स्थानीय तहको निर्वाचनमा मत नदिएर पराजित भएको भन्दै म्याग्दीमा उम्मेदवारले मतदातालाई धम्काउन थालेका गुनासोलाई जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । वडास्तरमा चुनावी गतिविधिमा असहयोग गरेकाले पराजित भएको भन्दै धम्काउने गरेको अडियो र भिडियोसँगै दलका कार्यकर्ता बिच मनमुटाव र मुडभेडको जोखिमलाई लिएर जिल्ला प्रशासन कार्यालयले सर्वदलिय बैठकमार्फत समाधानको प्रयास गरेको छ ।

बेनपा–६,थाकनपोखरीमा नेकपा एमाले सर्मथित यूवाहरूले नेपाली कांग्रेसका यूवालाई धारियो हतियार प्रयोग गरी घाईते हुने गरी कुटपिट, बेनपा–१० मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले सार्वजनिक स्थानमा आफूमाथि गालीगलौज गरेको भन्दै परेको उजुरी, धवलागिरी गाउँपालिका वडा नं ३ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले टेलिफोनमार्फत मतदातालाई तर्साएको जस्ता घटनाका बारेमा प्रशासनको ध्यानार्कषण गराइएको थियो ।

बिहिबार जिल्लाका विभिन्न स्थानमा चुनावको क्रममा भएको घटनालाई लिएर ठूला दल सहितको बैठक आयोजना गरिएको थियो । बैठकमा प्रजिअ चिरञ्जीवि रानाले लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचन भएकाले निर्वाचन सम्बन्धि गतिविधिलाई लिएर मतदाता र उम्मेदवार बिचमा देखिएको विवाद, घटनाका बारेमा प्रशासनले अनुसन्धान गरिरहेकाले धम्काउन र तर्साउन बन्द गर्न अनुरोध गर्नुभएको थियो ।

‘आजदेखि चुनाव सकियो,म्याग्दीमा शान्तिपूर्ण तरिकाले मतदान सकिएको सन्देश प्रवाह भएको छ,‘सबैको सहयोग र सहकार्य आवश्यक हुन्छ’ प्रजिअ रानाले भन्नुभयो । जिल्ला प्रशासनमा चुनावको क्रममा नेपाली कांग्रेस, नेकपा एमालेबाट आफ्ना नेता तथा कार्यकर्ता माथि भएको घटनालाई छानविन गरी कारवाहीको माग समेत गरेका थिए ।

बेनपा–६ थाकनपोखरी मतदान केन्द्रमा मतदाना सकिएपछि भएको घटनामा भएको आक्रमणलाई कांग्रेसले कानुनी उपचारको खोजी गरेको छ भने नेकपा एमालेले समेत आफ्ना कार्यकर्तामाथि भएको आक्रमण, कुटपिटमा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

सर्वदलिय बैठकमा जिल्लाभर चुनाव आसपासमा भएका घटनाको प्रकृति हेरेर सामान्य भए छलफलबाट टुंगो लगाउन भने दलहरू समेत सहमत भएका छन् । त्यस्तै जटिल घटनालाई कानुनी प्रक्रियाबाटै टुंगो लगाउन समेत प्रशासनले आवश्यक पहल गर्नुपर्नेमा दलका नेताहरूको भनाई थियो ।

जिल्लाका ६ वटै स्थानीय तहमा चुनावको मुखमा घटेका घटनाहरूका बारेमा सर्वदलिय बैठकबाट विगतमा समेत समाधान गरिएको नजिर भएकाले यसपटक समेत चुनावी घटनालाई विभाजित र तिक्ततापूर्ण अवस्थामा पुर्याउन नदिन समेत दलहरू सहमत भएको बैठकमा सहभागी एक नेताले बताए । जिल्लाभर निर्वाचन अगाडी र पछाडी घटेका घटनालाई लिएर प्याकेजमै समाधानको खोजी भइरहेको छ ।

यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेले निर्वाचनले समुदाय र समाजलाई जोड्नुपर्ने बताउनुभयो । हरेक ५ बर्षमा स्थानीय, प्रदेश र संघीय निर्वाचन हुने भएकाले पराजित भएका उम्मेदवार र विजय भएका जनप्रतिनिधिले जनताको भावना अनुसार काम गरी निर्वाचनको लक्ष्यलाई पुरा गर्न समेत घिमिरेले अपिल गर्नुभएको छ । उहाँले म्याग्दी जिल्लामा राजनीतिक दल बिचको हार्दिकता र सहकार्य नमुना रहेकाले अपसी समझारीबाट चुनावको बेलामा भएका मतभेद अन्त्य गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply