उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र पाँचवटा वडासहित बहुमत जितेपछि आज (बिहीबार) विजय उत्सव ¥याली निकालेको छ । आजै बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार एमालेले पालिकामा पहिलो भएको खुसियालीमा विजयउत्सव मनाएको हो ।

अन्नपूर्णको विभिन्न ग्रामीण क्षेत्रबाट आएका एमाले नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक र पालिका, जिल्ला, प्रदेश एवं केन्द्रीयस्तरका नेतासहितको टोली सहभागी भई विजयउत्सव मनाइएको एमाले अन्नपूर्णले जनाएको छ । एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको संयोजनमा गाउँपालिकाको केन्द्र पोखरेबगरमा विजयउत्सवको ¥यालीसहित बजारको परिक्रमा समेत गरिएको थियो ।

विजयउत्सव ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नरदेवी पुनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवालाई पहिलो प्राथमिकता दिन सुझाव दिनुभयो । उहाँले चुनावअघि गरिएका प्रतिबद्धताअनुसार अब जनप्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताउँदै समग्र अन्नपूर्णको विकास तथा नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले यसअघि एमाले नेतृत्वको सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई पुरा गर्न र जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले अहिलेको निर्वाचन जिल्लामा एमालेको पक्षमा आएको हुँदा सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, सन्तोष रावल, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी र उपाध्यक्ष बालकृष्ण सुवेदीले स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध अन्य सबै दलहरुले मोर्चाबन्दी गरेको भए पनि एमाले एक्लै चुनाव लडेर जित्न सफल भएको दावी गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भरतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चुनावको समयमा जनतासामु गरिएको प्रतिबद्धताअनुसार आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एमाले रघुगंगा गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर कार्की, जिल्ला सचिवालय सदस्य खड्ग गिरी, अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, अन्नपूर्ण–३, दानाका नवनिर्वाचित वडाध्यक्ष रमेश पूर्जा, एमाले नेता क्याप्टेन बलबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम एमाले अन्नपूर्णका अध्यक्ष धनकुमार पूर्जाको अध्यक्षता र सिवानी ल्वागुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply