म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँका जनप्रतिनिधिले सम्मान र स्वागतमा लगाइने रङ्गीबिरङ्गी खादा प्रयोग नगर्ने भएको छ । स्थानीय उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ आयातित खादामा हुने अनावश्यक खर्चलाई न्यूनिकरण गर्ने वडाभित्र हुने कुनैपनि कार्यक्रममा प्रयोग नगर्ने घोषणा गरिएको छ ।

नवनिर्वाचित वडाका जनप्रतिनिधिलाई स्वागत तथा कार्यकाल पुरा भएकालाई विदाईको अवसरमा वडा अध्यक्ष एकजित रोकाले सम्मानको नाममा फजुल खर्च नगर्ने बताउनुभयो । ‘एकैपटक ४० हजारको खादा प्रयोग हुन्छ,‘आयातित खादामा अब खर्च नगरौं’ अध्यक्ष रोकाले भन्नुभयो ।

उहाँले वडाका जनप्रतिनिधिबाटै वडास्तरमाहुने कार्यक्रमहरूमा खादाको प्रयोग नगर्ने बताउँदै सबैलाई यो अभियानमा साथ दिन समेत अनुरोध गर्नुभयो । ‘माला, पुष्पगुच्छाहरू प्रयोग गर्नुपर्छ,‘गाउँघरमै माला बनाएर आम्दानी गरौं’ अध्यक्ष रोकाले भन्नुभयो ।

नकुहिने र पुनःप्रयोग पनि नहुने भएकाले यस्ता खादा प्रदुषणको स्रोत समेत भएकाले स्थानीयले समेत अभियानमा साथ दिने उहाँको भनाई छ । खादाको प्रयोग प्रायः एकचोटी मात्र हुने र त्यसपछि खासै अन्य प्रयोगमा नआउने जनप्रतिनिधिको भनाई छ ।

वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा वडा अध्यक्ष रोका, महिला सदस्य डिल कुमारी खत्री, दलित महिला सदस्य संगिता किसान खुल्ला सदस्यद्वय ओमकार शेरपुन्जा र नर बहादुर खत्रीलाई निर्वतमान वडा अध्यक्ष क्या.डेक बहादुर राम्जालीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार पृथीलाल बिक, दिपशिखा माविका प्रधानाध्यापक नन्दबहादुर खत्री, भुपु गाबिस उपाध्यक्ष धनलाल रोका, बम बहादुर रोका लगायतको उपस्थिती रहेको स्थानीय ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । वडा अध्यक्षले पदभार ग्रहण गदैं आगामी पाँच बर्ष टुक्रे बजेट भन्दा पञ्चवर्षिय योजना बनाएर आवश्यकताको आधारमा बजेट विनियोजन गरिने बताउनुभयो ।

Leave a Reply