स्थानीय तहको निर्वाचनको बाहना बनाएर म्याग्दीबाट पोखरा चल्ने ट्याक्सीहरुले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको पाइएको छ । चुनावका कारण पोखराबाट रित्तै फर्किनुपर्ने भन्दै म्याग्दी–पोखरा सडकखण्डमा चल्ने ट्याक्सीले एकतर्फी ६ हजारसम्म भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन् । गएको बैशाखको अन्तिम सातादेखि म्याग्दी तथा पोखराबाट राजमार्गमा चल्ने ट्याक्सी चालकहरुले मान्छे अनुसारको भाडा असुल्ने गरेको पाइएको हो ।

‘चुनावको बाहनामा मनपरी भाडा असुल्दै आएका छन्, उनीहरूले भनेको भाडा नदिए लैजान अस्वीकार गर्छन’एक यात्रुले बेनीअनलाइनलाई भनिन् । शनिबार सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा यात्रु लिन आएको ट्याक्सीले एकतर्फीको ६ हजार मागेको र यात्रुले अस्वीकार गरेपछि फिर्ता गएको थियो ।

भाडामा मनोमानी भएको चौतर्फी गुनासो आउन थालेको करिब एक साताभन्दा बढी भयो । चुनाव,चाडपर्वमा महंगो भाडा लिने गरिएपनि इन्धनको मुल्य बढेकाले भाडा निर्धारण गरी सबैले एउटै लिनुपर्ने यात्रुको भनाई छ । विगतमा यात्रुले २५ सयदेखि ३ हजारसम्म रिर्जव वा एकल यात्रुको भाडा ७ सयसम्म तिर्ने गरेका थिए ।

ट्याक्सी चालकहरुले यात्रुलाई बाध्यतामा पारेर निर्धारण गरिएको भन्दा बढी भाडा लिँदै आएको बारेमा कारबाही गर्ने निकाय समेत चासो नदिएको यात्रुको गुनासो छ ।

यता जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीले चर्काे भाडा असुल्नेका बारेमा जानकारी दिन यात्रुलाई अपिल गर्नुभएको छ । ‘चर्को भाडा असुल्नेहरूका बारेमा गुनासो आउन थालेको छ,‘प्रमाण मिलेरमा ठाउँको ठाउँ कारवाही गछौं’ नेपालीले भन्नुभयो ।

जिल्लाभित्र र बाहिर गुड्ने ट्याक्सी सहित भाडाका सवारीसाधनको छड्के अनुगमन भइरहेको र भाडा तिरेका यात्रुले ट्याक्सी नम्बर मात्रै जानकारी दिएपनि हुने कार्यालयले जनाएको छ । म्याग्दीमा यात्रुको अभाव हुने भन्दै ब्यवसायीले मनपरी गर्दा विगतमा पनि महँगो भाडा तिरेर गन्तव्यमा पुग्न यात्रुहरु बाध्य हुदै आएका छन्।

Leave a Reply