पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा म्याग्दीमा आज एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । सरकारले खाना पकाउने एलपी ग्यास तथा पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिको विरोधस्वरुप युवा र विद्यार्थीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

वर्तमान सत्ता गठबन्धन सरकारको उपहार, महङ्गी र भ्रष्टाचार भन्दै पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भएको अस्वभाविक मूल्यवृद्धिको विरुद्धमा विरोध गरिएको युवा र विद्यार्थीले बताएका छन् । म्याग्दी सदरमुकाम बेनीबजारको क्याम्पसचोकबाट मोटरसाईकल डो¥याएर युवा तथा विद्यार्थीले विरोध जनाएका थिए । पानी परिरहेको अवस्थामा त्यसको कुनै प्रवाह नगरी उनीहरु विरोध ¥यालीसहित प्रशासनचोकमा पुगेर कोणसभा गरेका थिए ।

युवा र विद्यार्थीद्वारा आयोजित विरोध ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले गठबन्धनको सरकारले नेपाली जनतालाई महङ्गी र भ्रष्टाचारको उपहार दिएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार भारतले एकपक्षीय रुपमा नेपाली भूमि मिचिरहेको बताउँदै महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसपीले पुलको लठ्ठा काटिदिँदा नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको बारेमा समेत बोल्न नसकेकोमा सत्ता गठबन्धनको चर्को आलोचना गर्नुभयो ।

विरोध सभामा विद्यार्थी नेता एवं नेकपा एमाले बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माले सरकारले तत्काल मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीको विशेष उपस्थिति रहेको कार्यक्रम युवा संघ म्याग्दीका संयोजक शिशिर शाहीको अध्यक्षता र अनेरास्ववियुका जिल्ला सचिव मिलन खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सरकारले आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ६३, हवाई इन्धनको प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ । निगमले यसअघि गएको वैशाख ३१ गते पनि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो ।

Leave a Reply