म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो । बिहिबार सम्पन्न भएको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेसँगै जिल्लामा सत्ता गठबन्धनको बाँकी सहकार्यमा झड्का लागेको छ।

नेकपा एमालेलाई हराउने उद्देश्य राखेर स्थानीय तहमा केही पालिकामा गरिएको तालमेलमध्ये धवलागिरी बाहेक अन्यमा सोचेजस्तो नतिजा नआएको र बेनी नगरपालिकामा माओवादी केन्द्रका भोटहरू एमालेका उम्मेदवारलाई खन्याइएको विषयमा मतभेद भइरहेको अवस्थामा बिहिबार मालिका गाउँकार्यपालिकाको निर्वाचनको दृष्यले समेत तालमेल र सहकार्यलाई पुर्नविचार गर्नुपर्ने अवस्था बनाइदिएको छ ।

पाँचदलीय गठबन्धनले तालमेल गरेर चुनावी मैदानमा होमिनबाट अलग भएको मालिकामा माओवादी केन्द्रले कांग्रेसलाई कार्यपालिकाको निर्वाचनमा आफ्नो शक्ती प्रर्दशन गरेको छ ।सत्ता गठबन्धनको सहकार्यमा कार्यपालिकाको निर्वाचन भएपनि माओवादी केन्द्रका २ र एकिकृत समाजवादीबाट १ जना र बाँकी ३ जना एमालेबाट निर्वाचित भएपछि तालमेललाई स्थायी रुपमै तोड्ने संकेत देखिएको छ ।

जिल्लामा कांग्रेस र माओवादी बिचको सहकार्य तोड्दिा फाइदा नेकपा एमालेलाई हुन्छ । बेनी नगरपालिका सहित अन्य स्थानीय तहको कार्यपालिकाको निर्वाचनमा अबको दृष्य रोचक हुने सम्भावना छ । नेकपा एमालेको मंगला र अन्नपूर्ण गाउँपालिकामा एकल बहुमत छ भने नेपाली कांग्रेसको रघुगंगामा एकल बहुमत छ ।

रघुगंगामा माओवादी केन्द्र क्लिन स्वीप भएको अवस्थामा कार्यपालिका एक सदस्यमा नेपाली कांग्रेसले सघाउने अवस्था देखिएको छ भने बेनी नगरपालिकामा समेत सत्ता गठबन्धनकै तालमेल छ । मालिकाको दृष्यले धवलागिरीमा छुदैन भने अन्य स्थानीय तहमा भने पर्ख र हेरको अवस्थामा पुगेको बताइएको छ ।

‘माओवादीसँगको सम्बन्ध चिनीभित्रको कमिला जस्तै भयो,‘सहकार्यलाई इमान्दारिताभन्दा पनि स्वार्थसँग जोड्ने गरिएको छ’ एक नेपाली कांग्रेसका नेताले भने ।बेनी नगरपालिकामा इमान्दारितापूर्वक उपमेयरमा सहयोग गर्दा समेत माओवादीले वडामा नराम्रो पाठ सिकाएको कांग्रेसका नेताहरुको भनाई छ भने माओवादी केन्द्रको नेताहरुले समेत तालमेलमा कमजोर स्थानमा धकेल्ने र सहज स्थानमा कांग्रेसले पन्छाउन खोजेको अवस्थामा सहकार्यमा असहज भएको बताएका छन् ।

‘बागलुङ र पर्वतमा भएको तालमेल यहाँका कांग्रेस नेताले सिक्न सकेनन्,‘कांग्रेसका नेताहरुको दम्भले पार्टीका कार्यकर्ताहरुलाई र जनप्रतिनिधिलाई समेत सम्हाल्न गार्यो भएको छ’ एक माओवादी नेताले भने । सत्ता सहकार्य गरेका दलहरु बिचको एकता बलियो बनाउनुपर्नेमा कांग्रेसबाट समेत इमान्दारितापूर्वक सहकार्य नभएको बताएका छन् ।

स्थानीय तहको कार्यपालिकाको निर्वाचनमा देखिएको दृष्यले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तीन दल एक्लै चुनावी मैदानमा देखिने वा केन्द्रमा तालमेल भएपनि जिल्लामा कांग्रेसका कार्यकर्ताले माओवादीलाई र माओवादीकाले कांग्रेसलाई सघाउने वातावरण कमजोर भएको बताएका छन् । तालमेलको दृष्य मतगणनास्थलमा देखिएपछि सत्ता गठबन्धनका नेताहरुमा सहकार्यभन्दा पनि अलग अलग उपस्थिती हुने सम्भावना देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्ला नेतृत्वको अपरिपक्काको कारण गठबन्धनको हातमै पुगेका केही पालिकाहरू गुमेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मालिका आफ्नो पोल्टामा पार्न खोज्दा अन्य धवलागिरी र बेनी नगर,अन्नपूर्ण गाउँपालिकामा तालमेल भयो । दुबै पार्टीका यूवा नेताहरूको अडान फोर्न नसक्नु जिल्ला नेतृत्वको कमजोरी भन्दै दुबै पार्टीका नेताहरुले आलोचना गर्ने गरेका छन् ।

Leave a Reply