म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (शुक्रवार) सदरमुकाम बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबीच कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाले सुरु गर्न लागेको नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविरको पूर्वसन्ध्याको अवसर पारेर कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पछिल्लो समय नसर्ने रोगबाट अकालमै मानिसको ज्यान जाने घटनाहरु भैरहेकाले यसलाई न्युनीकरण गर्नका लागि नसर्ने रोगको परीक्षणका लागि स्वास्थ्य शिविर गर्न लागिएको बताउनुभयो । उहाँले आम नगरवासीलाई नसर्ने रोगको विषयमा पूर्व जानकारी गराएर समयमै स्वास्थ्य उपचार गरी रोगबाट बच्न आवश्यक पहल गरिने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो दायित्व स्वास्थ्यकर्मीको भएकाले त्यसमा जनप्रतिनिधिको तर्फदेखि आफूहरुले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले जनताको आधारभूत आवश्यकताअन्तर्गत शिक्षा र स्वास्थ्य प्रमुख रहेको बताउँदै सबै नागरिकलाई स्वस्थ र शिक्षित बनाउन बेनी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्तत्र्रिया कार्यक्रममा बेनी अस्पताल म्याग्दीका डाक्टर रुक्मिना अधिकारीले मुटुरोग, सुगर, प्रेसर तथा श्वासप्रश्वासको साथै नसर्ने रोगको बारेमा सहजीकरण गर्नुभएको थियो । बेनी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष र स्वास्थ्यचौकीका इन्चाजहरुको सहभागिता रहेको कार्यक्रम स्वास्थ्य शाखा संयोजक लिला गौतमको सञ्चालन र सहसंयोजक डिल्लीराज आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित नगर प्रमुख केसीले पदभारग्रहण गर्दै स्वास्थ्यसम्बन्धी तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । पदभारग्रहणका क्रममा नगरका स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एकपटक ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगको स्वास्थ्य शिविर तथा नगरभित्रका विपन्न २ सय घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरिएको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्नका लागि आउँदो आइतबार जेठ १५ गते बेनी नगरपालिकाको सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

 

Leave a Reply