म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौँदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ ।

गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।

वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो पुस्ताको सीप र ग्रामीण सौन्दर्यसमेत हराउँदै जान थालेकोमा स्थानीय बुढापाका चिन्तित देखिन्छन् । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले एकातिर वातावरणीय सन्तुलन समेत खल्बलिएको छ, भने अर्कोतर्फ रैथाने सीप पनि प्रयोगमा आउन नसक्दा सीपभएका स्थानीय पनि बेरोजगार बनेका मालिका गाउँपालिका– ३ का भीमबहादुर बुढाले बताए । बुढाले वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आएका थिए । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको उनले दुःखेसो पोखे ।

केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डाला, नाङ्ला, थुन्से र भकारीलगायतका सामग्रीको पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उनको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला, नाङ्लाले बजार पाउन छाडेको बुढा बताउछन् ।

परम्परागत नापतौल गर्ने तुलोको रुपमा प्रयोग हुने मानापाथि आजकल किलो र लिटरमा परिवर्तन भएको उनको भनाइ छ । “दुई दशक अघिसम्म गाउँघरमा मात्रै होइन सहर बजारमा पनि अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत मानापाथिको प्रयोग हराउँदै गए” बेनी नगरपालिका ३ भकिम्लीका तीर्थबहादुर विकले भने, “अब त गाउँघरमा नाङला, डाला बुन्ने मानिस पाइन छोडे, डोकोको प्रयोग हुँदै आएको छ, यही हिसाबले जाने हो भने त केही वर्षपछि गाउँमा डोको बुन्ने मानिस पनि पाइने छैनन् ।”

 

पछिल्लो समय एकातिर ग्रामीण मौलिक सामग्रीको प्रयोग कम हुँदै गएको छ भने अर्कोतर्फ कच्चापदार्थ समेत अभाव हुन थालेको उनिहरुको गुनासो छ । “आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा ५÷७ वटा डोका बुन्न सकिन्छ” विकले भने ।

आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उनले बताए । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो, नाङ्लो लोप हुनसक्ने उनको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् ।

“हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ” विकले भने ।

 

केही वर्षअघिसम्म फुर्सदको समयमा डालो, नाङ्ला बुनेर विक्री गरेपनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको सम्झदै विकले अहिले ती सबै कुराहरु सपनाजस्तै भएको सुनाए ।

Leave a Reply