सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफूखुसी गाडी भाडा वृद्धि गरेका छन् ।पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको छ । विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैँले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताए ।

‘हामीलाई कुनै रहर छैन । यो हाम्रो बाध्यता हो । बजारमा चरम मूल्यवृद्धि छ । यो अवस्थामा गाडी भाडा मात्र सस्तो कसरी बनाउन सकिन्छ ?,’ उनले भने, ‘बन्द हट्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौँ । यसबाट परेको असरप्रति क्षमता प्रार्थी छौँ ।’

पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफूखुसी २० प्रतिशत भाडा बढाएको थियो ।२०६५ सालमा वैज्ञानिक भाडा दर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार २ भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ । भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भए पनि समयमा काम नगरेका कारण व्यवसायीले कानुन विपरीत आफैँ भाडा बढाएको बताएका छन् ।

Leave a Reply