म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी र विद्यालय पोसाक,झोला लगाएतका लागि सामाग्रीहरु वितरण गरिएको छ ।

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतममार्फते सहयोग दाताहरुले पठाएको रु ३१ हजार रकमबाट खाद्यान्न,कपडा,जुत्ता,झोला लगाएतका सामाग्री खरिद गरी असहाय बालबालिकाहरुलाई वितरण गरिएको हो ।

सिराहा नगरपालिका सिराहा स्थायी ठेगाना हाल कतारको औद्योगिक क्षेत्रमा रहेको अल जाइम पोलिक्लिनिकमा कार्यरत डा मोदस्सिर आलमले पठाएको रु २० हजार र काठमाण्डौंबाट नानीकिरण सुनुवारले पठाएको रु ११ हजार सहयोग गरेका हुन्।

बालबालिकाको अवस्थाका बारेमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि अन्य सहयोग दाताहरुले पनि विद्यार्थीहरुलाई खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्रीहरु सहयोग गरेका छन् ।

कार्यक्रममा स्थानीयवासी समेत रहेका म्याग्दी क्याम्पसका भुतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजाल लगाएत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अभिभावकले छोडेपछि विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा समाचार प्रकाशित भएको थियो ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो । उनलाई एक महिनाका लागि स्थानीय बुद्धबीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने गरेका छन् ।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्री प्रदान गरिएको छ । पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन् ।

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा परेका हुन् ।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना रहेको छ । त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह समेत गरेको छ ।

Leave a Reply