उनीहरू विदेशी गगल्स लगाएर गाउँ घुम्थे। शिरमा छत्रे टोपी सिउरन्थे।ज्यानमा जिन्स पाइन्ट, ज्याकेट र जुत्ता; नाडीमा महँगो घडी; घाँटीमा क्यामरा; अनि हातमा टेप।

ब्रिटिस पल्टनबाट फर्केका नेपाली लाहुरेहरूलाई देखेर हामी कलिला केटाहरू हिरिक्कै हुन्थ्यौं। हाम्रा निम्ति उनीहरू नै प्रेरणाका स्रोत थिए।हामी जुन समाजमा हुर्कियौं, त्यहाँ उनीहरूको विशेष सम्मान थियो। हाम्रै गाउँको एकाघरका तीन दाजुभाइ लाहुरे थिए। त्यस्तो संयोगलाई गाउँलेहरू ‘ट्रिपल पप्लु’ भन्थे।

मैले पढेको पोखराको गण्डकी बोर्डिङ स्कुलमा लाहुरेका छोराहरू धेरै थिए। उनीहरूले राम्रा विदेशी कपडा र जुत्ता लगाएको देख्दा बेलाबखत हिनताबोध हुन्थ्यो। कतिपय सिनियर दाइहरू र आफ्नै समकालीन साथीहरू पनि पढ्दा पढ्दै वा १० कक्षा पास गरेर भर्ती भएका थुप्रै उदाहरण छन्।

सन् २०१६ को कुरा हो। म पिएचडी सिलसिलामा भारतमा थिएँ। मुवाबुवालाई देहरादुन र मसुरी घुमाउन लगेको थिएँ।

हामी ब्रिटिस सरकारले देहरादुनमा स्थापना गरेको खलंगा युद्ध स्मारिका गयौं। ब्रिटिस साम्राज्य र नेपालबीच सन् १८१४ मा भएको पहिलो युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरीको सम्मान गर्दै यो स्मारिका बनाइएको थियो।

त्यहाँ घुम्दा मेरो मन भरिएर आयो। देहरादुनको नालापानीमा बलभद्र कुँवर नेतृत्वको गोर्खाली सेनाले देखाएको बहादुरी सम्झँदा गर्वले छाती फुल्यो। त्यसलाई शत्रु पक्षको सम्मानमा स्थापना गरिएको विश्वको एकमात्र स्मारक मानिन्छ। गोर्खाली सेनाको बहादुरीको उच्च मूल्यांकन गर्दै ब्रिटिस सेनामा भर्ना गर्ने चलन त्यति बेलैदेखि चलेको रहेछ।

दुई सय वर्षभन्दा पुरानो यो परम्परा अहिले पनि निरन्तर छ।कुनै बेला साम्राज्यवादको चरम विन्दुमा घाम नअस्ताउने ब्रिटिस साम्राज्यको इतिहासमा यस्तो विशेष व्यवस्था नेपालसँग मात्र छ। यो व्यवस्थामा नेपालका प्राय: मगर, गुरूङ र राई समुदाय आबद्ध छन्।

आमनेपाली नागरिकमा विदेशप्रति मोहको बिजारोपण यही प्रथाबाट सुरू भएको हो भन्दा अतिसयुक्ति नहोला।

अब नेपालको अर्को विशेषताको कुरा गरौं। करिब २४ सय किलोमिटर लामो हिमाली शृंखलाको तीन भागको एक भाग नेपालमा पर्छ। यस्तो उच्च शृंखला संसारको अर्को कुनै ठाउँमा छैन। यो शृंखलाको भौगोलिक बनोट बेजोड र अद्धितीय छ। यही उच्च हिमाली शृंखलाको पिँधमा विभिन्न समुदाय आदिमकालदेखि बस्दै आएका छन्। तीमध्ये शेर्पा एक प्रमुख समुदाय हो जो नेपालको प्राय: सोलुखुम्बु क्षेत्रको हिमाली भेगमा बस्छ।

हिमाल चढ्ने र सहयोगी दलको सदस्यका रूपमा शेर्पा विश्वप्रसिद्ध छन्। शेर्पाकै नाममा हिमाल चढ्ने सामग्री तथा उच्च भेगमा लगाउने विशेष किसिमका जुत्ता, कपडा लगायतको विश्वप्रसिद्ध ब्रान्ड स्थापित छ।

उच्च हिमाली भेगमा जन्मेर त्यहीँ हुर्केका शेर्पाहरू प्राकृतिक हिमाल आरोही हुन्। पाँच देशमा फैलिएको २४ सय किलोमिटर लामो हिमाली शृंखलामा विविध समुदाय बसोबास गरे पनि नेपालको शेर्पा समुदाय नै सात दशकदेखि हिमाल आरोहणमा अब्बल र अतुलनीय रूपमा स्थापित छन्।

ब्रिटिस सेनामा एउटै मात्र विदेशी नागरिकले भर्ना पाउने गोर्खाली र हिमाल चढ्न अब्बल शेर्पा समुदाय — यी दुवै नेपालका मौलिक विशेषता हुन् जुन विश्वको अन्य कुनै मुलुकमा पाइँदैन।

गोर्खाली सेनाको बहादुरी र वफादारीले विश्व प्रसिद्धि कमाएको छ भने अग्लो उचाइको हिमाल आरोहण गर्ने समुदायका रूपमा शेर्पाको विकल्प छैन।

पहिलो र दोस्रो विश्वयुद्ध लगायत अफगानिस्तानजस्ता सुरक्षा दृष्टिले संवेदनशील र जोखिमपूर्ण स्थानमा ब्रिटिस सेनाअन्तर्गत गोर्खाली सेनाले अद्भुत बहादुरी, साहस र क्षमता प्रदर्शन गरेको छ भने शेर्पाको संलग्नताबिना हिमाल चढ्ने अभियान कठिन र जोखिमपूर्ण हुने भाष्य स्थापित भइसकेको छ। शेर्पा समुदायका लागि हिमालका शिखरहरू पानीपँधेरोजस्तै भएको छ।

विविध विशेषताको संगमबाट विशिष्टता सिर्जना हुन्छ। निमल पुर्जा उर्फ ‘निम्स दाइ’ यही विशिष्टताका एक असाधारण प्रतिबिम्ब हुन्।

उनले यी दुई विशेषताको नवीन प्रयोग गरेर कसैले नसोचेको उपलब्धि हासिल गरेका छन्।

हुन त आठ हजार मिटर उचाइका १४ वटै हिमाल आरोहण गर्ने निम्स दाइ एक्ला होइनन्। विभिन्न मुलुकका करिब ४० जनाले १४ वटै हिमाल चढिसकेका छन्। निम्स दाइले भने ३६ वर्ष उमेरमा आठ हजार मिटर उचाइका १४ वटै हिमाल सबभन्दा छोटो अवधिमा चढेर विश्व कीर्तिमान बनाएका हुन्।

उनले छ महिना छ दिन लगाएर २९ अक्टोबर २०१९ का दिन यो कीर्तिमान राखेका थिए। यो असाधारण उपलब्धि हो।

उनीभन्दा अगाडि रेकर्ड राख्ने कोरियन नागरिकले सात वर्ष ३१० दिन लगाएका थिए।

निर्मल पुर्जाले सन् २०१७ देखि नै विश्व रेकर्डहरू बनाउँदै आएका थिए। उनले एक गरिब राष्ट्रको नागरिकका रूपमा अन्तर्राष्ट्रिय व्यवस्थापन तथा अभियानमार्फत् आफ्नो लक्ष्य हासिल गरेका छन्। देशको विशेषता र सम्भावनालाई आफ्नो सफलताको माध्यमबाट अभिव्यक्त गरेका छन्।

मगर समुदायको सरलपन र इमानदारी; ब्रिटिस गोर्खा आर्मीको तालिम र अनुशासन; शेर्पाको हिमाल चढ्ने प्राकृतिक कला र क्षमता; विदेशी बसाइले उघारेको सोच, पहुँच र अभियानको शैली; परिवारको साथ; आफैंप्रति अद्भुत आत्मविश्वास, अदम्य साहस र कठिन मिहिनेत; र यी सबै विशेषताको संगमबाट जुरेको एक असाधारण सफलताका प्रतिबिम्ब हुन् निम्स दाइ।

अर्थशास्त्रको विद्यार्थीका नाताले म निम्स दाइलाई फरक अन्दाजमा बुझ्ने कोसिस गर्दैछु। यो प्रयासबाट केही उत्प्रेरणा र केही अन्तर्दृष्टि मिलेको छ।

यो आलेखको मुख्य उद्देश्य नै उनको उत्कृष्ट अन्तर्राष्ट्रिय सफलतालाई कसरी उनको धरातल अर्थात् नेपाल र नेपालीसँग जोड्न सकिन्छ र नयाँ नेपालको सन्दर्भमा उनको जीवनबाट के कस्ता प्रेरणा र सिकाइ ग्रहण गर्न सकिन्छ भन्ने हो।

व्यस्तताबीच लामो समय यो विषयसँग कहिले नजिकिने र कहिले टाढिने प्रसंग चल्दै गर्दा विचारले ठोस रूप लिन कठिन भयो। उनको ‘फोट्टिन पिक्स’ वृत्तचित्र हेरेको पनि करिब छ महिना भइसकेछ। उक्त वृत्तचित्र हेर्दाहेर्दै मष्तिस्कमा नेपाल र नेपालीको विशिष्टतासम्बन्धी नवीन अवधारणा बिजारोपण भए पनि परिस्कृत ढंगले व्याख्या गर्न निकै समय लाग्यो।

यो आलेख तयार पारेर प्रकाशित भएपछि पनि मेरो मस्तिष्कले यसका विविध पक्ष जोडेर हेर्ने र अर्थ्याउने थप प्रयास गर्ने छ। म विश्वस्त छु, यो विषयबाट प्रवाह हुने अन्तर्दृष्टि मुलुकको दिशानिर्देशका लागि महत्वपूर्ण प्रेरणा स्रोतका रूपमा स्थापित हुनेछ। उनको उपलब्धि लाखौं नेपाली युवाका लागि अर्थपूर्ण र प्रेरणादायी छ।

मुलुकभित्रको अत्यासलाग्दो राजनीतिक र निराशाजनक विकासको अवस्थाबीच उनको अनुभव, साहस र उपलब्धिले एक सामान्य नेपाली युवालाई पनि विश्वले कहिल्यै नदेखेको सफलता र उचाइ हासिल गर्न उत्प्रेरित गर्नेछ।

जिन्दगीको अर्थ, सफलता र सन्तुष्टिको एउटा उत्तम मापन यो पनि त हो!

मुलुकको सम्भावना देशभित्रै खोज्ने हो। मुलुकको विशेषता र मुलुकमै उपलब्ध स्रोतमा आधारित व्यवसाय तथा उत्पादन दिगो हुन्छ, उच्च अभिवृद्धिको सम्भावना हुन्छ। दातृ संस्थाले प्रवर्द्धन गर्ने विकासे मोडल कपी-पेस्ट गरेर मुलुक धेरै टाढा पुग्छजस्तो लाग्दैन।

दातृ संस्थाको आधा शताब्दीको संलग्नतामा पनि मुलुकमा समृद्धि आएको छैन। क्षमता अभिवृद्धिका नाममा दातृ संस्थाले बर्सेनि अर्बौं रूपैयाँ खर्चेर पनि सार्वजनिक सेवाको गुणस्तर र प्रभावकारिता दयनीय छ। हाम्रो मुलुकको विकासको मौलिक मोडेल हामीले नै खोज्ने हो, निर्धारण र लागू गर्ने हो। विदेशी अनुदानका रूपमा आउने अधिकांश स्रोत झिनामसिना कार्यक्रममा खेर गइरहेका छन्।

दातृ संस्थाबाट निर्देशित कार्यक्रम मुलुकको प्राथमिकता तथा धरातलीय यथार्थभन्दा पृथक छन्, त्यसैले नतिजा अमूर्त छन्। सबै समाधानका उपाय आयातित हुनुपर्दैन, स्थानीय समस्याको निदान प्राय: स्थानीय उपायबाटै सम्भव हुन्छ। हाम्रोजस्तो मुलुकमा तलदेखि माथिको (बटम अप) विकासे अवधारणाअन्तर्गत स्थानीय उपाय तथा विशेषता र अन्तर्राष्ट्रिय स्रोतको सम्मीश्रण नतिजामुखी र प्रभावकारी हुन्छ।

यी विषयमा आजकाल दातृ संस्थाहरूमा काम गर्ने स्वदेशी तथा विदेशीहरूसँग मेरो गम्भीर बहस हुने गर्छ। त्यस क्रममा उनीहरूले केही मुलुकको अपवाद घटना तथा सफल कथा (सक्सेस स्टोरी) को उदाहरण दिन्छन्। अर्थन्त्रको सैद्धान्तिक कुरा गर्छन्।

मेरो बुझाइ के भने, अपवाद त अपवाद नै हो! कुनै देशको अपवादलाई अन्य मुलुकले अनुसरण गरेर विकासको फड्को मार्न सकिन्छ भन्ने कुरा सैद्धान्तिक रूपले मननयोग्य भए पनि व्यावहारिक रूपले प्राय: असान्दर्भिक हुन सक्छ।

अर्थतन्त्रको सिद्धान्तका हकमा माग र आपूर्तिजस्ता केही आधारभूत सिद्धान्तबाहेक अन्यमा अर्थशास्त्रीय धारपिच्छे फरक अवधारणा छन्। क्लासिकल र किन्सका धारणा फरक छन्, त्यसैले एकै समस्याका लागि उनीहरूले पेस गर्ने समाधानका उपाय फरक हुन्छन्। हामीले पनि हाम्रो समस्याको समाधान आफ्नै तथ्यांक, प्रमाण र सन्दर्भमा आधारित व्यवहारिक नीति तथा योजनामार्फत खोज्नुपर्छ।

दुई सय वर्षभन्दा पुरानो पृथक संस्कृतिलाई यहाँसम्म ल्याउने क्रममा लाखौं गोर्खाली सैनिकमध्ये कतिले निम्स दाइले जस्तो फरक सपना देखेका होलान् वा नवीन अवधारणाबाट सम्भावना खोजेका होलान्?

सात दशकदेखि सहयोगीका रूपमा अरूलाई हिमालको शिखरमा पुर्‍याउने क्रममा कति शेर्पाले पृथक सोच राखेर विश्वमा आफ्नो नाम स्थापित गरे र आफ्नो सिपलाई व्यवसायका रूपमा अपनाए होलान्?

गोर्खाली सेना र शेर्पा विश्वको दोस्रो मुलुकमा छैन। यी दुई नितान्त नेपालका मौलिक विशेषता हुन्। निम्स दाइले यी मौलिक विशेषता मिश्रण गरेर आफ्नो विशिष्टता स्थापित गरेका छन्। अहिले त्यही उपलब्धि र विशिष्टतालाई पेसा बनाएर सफल व्यवसायी बनेका छन्।

यस अर्थमा निम्स दाइ विशिष्टतामा आधारित सम्भावनाका एक अभूतपूर्व प्रतिबिम्ब हुन्। हामीले पनि उनले जस्तै देशको मौलिक विशेषतालाई विशिष्टतामा रूपान्तर गरेर यस्तै नवीन अवधारणामार्फत नयाँ सम्भावना खोज्नुपर्छ। उत्पादन तथा अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा सर्वाधिक प्रयोग गरिने शब्द ‘तुलनात्मक लाभ’ को अवधारणा नै यही हो।

देशमा उपलब्ध नहुने आयातित कच्चापदार्थमा आधारित उद्योगबाट सामान्य मूल्य अभिवृद्धि गरेर पुन: निर्यात गर्ने परम्परागत मोडलले हाम्रोजस्तो भूपरिवेष्ठित राष्ट्र धेरै टाढा पुग्दैन। मुलुकको मौलिक विशेषतामा आधारित सम्भावना पहिचान गरेर समृद्धि हासिल गर्नुपर्छ।

पानी, प्राकृतिक सुन्दरता तथा विविधता, उचाइको विविधता, खनिज, पहाड, वनजंगल, युवा, सामाजिक विविधता, सरलता, इमानदारी आदि हाम्रा विशेषता हुन्। हामीले हाम्रो सम्भावना यही विशेषताभित्र खोज्नुपर्छ। यस्तै विशिष्टतामा आधारित उत्पादन तथा मूल्य अभिवृद्धिको मजबुत जगमा मुलुकले विकास र समृद्धिको छलांग मार्नुपर्छ।

निम्स दाइलाई नेपालसँग जोड्ने क्रममा उनको व्यक्तित्व र उपलब्धिलाई संकुचित सोच, परिधि र परिभाषामा बाँधेर राख्ने गल्ती गर्नु हुँदैन।

उनी अन्तर्राष्ट्रिय सेलेब्रेटी हुन्। उनले अधिकांश समय जोखिमपूर्ण वातावरण र युवा तथा विश्वलाई नै प्रेरित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा लगानी गरेका छन्। उनलाई हाम्रो निरन्तर साथ, प्रेरणा, हौसला र मार्गदर्शनको खाँचो छ।

निम्सले अझ धेरै प्रगति गर्नुपर्छ। सफलताका नयाँ शिखरहरू चुम्नुपर्छ र उनको उपलब्धिले युवा र विश्वलाई थप प्रेरित गर्नुपर्छ।उनको उपलब्धिको उदाहरणले नयाँ नेपाल निर्माणमा एउटा नयाँ मार्गदर्शन प्रदान गर्न सकोस्, हार्दिक शुभकामना!

(लेखक विश्वास गौचनसर्वांगिण विकास अध्ययन केन्द्र (आइआइडिएस) का कार्यकारी निर्देशक हुन्।) Source: setopati.com

Leave a Reply