सदरमुकाम बेनीमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिमलाई मध्यनजर गदैं बेनी नगरपालिकाले अलपत्र छोडिएका पशु चौपायलाई व्यवस्थापन गर्ने भएको छ ।

डेढ एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको चौतर्फी गुनासोसँगै चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

‘पशुधनीको पहिचानमै समस्या भइरहेको छ,’ ‘छाडा चौपाया लैजानेलाई सित्तैमा दिन्छौं’ मेयर केसीले भन्नुभयो । १० देखि १५ वटा गाई मुस्ताङको थासाङ गाउँपालिकाका किसानलाई दिने गरि मुस्ताङ पठाउन छलफल भईरहेको बताइएको छ ।

त्यस्तै शिखका एक कृषकले पनि आफ्नो घरमा पाल्नका लागि २ वटा गाई लैजाने भएका छन । नगरपालिकाले सूचना मार्फत आफ्ना घरपालुवा पशुचौपायलाई बजारक्षेत्रमा छाडा नछोड्न नगरबासीलाई अनुरोध गरेको छ। छाडा पशुचौपायलाई व्यवस्थापन गर्ने कार्य सुरु भएकाले नजिी घरपालुवा पशुचौपायालाई कतै हस्तान्तरण गरेमा नगरपालिकाले जिम्मेबारी लिन नसक्ने शाखा अधिकृत यूवराज थापाद्धारा सूचनामा उल्लेख छ।

घरमा लगेर पाल्न चाहेमा पशुको कानमा नम्वर ट्याक लगाई पठाउने र केही आर्थिक प्रोत्साहन समेत गर्ने घोषणा गरिएको भएपनि हाल नगरपालिकाद्धारा जारी सूचनामा भने आर्थिकका बारेमा उल्लेख छैन् । हाल बेनीबजारमा छाडा छोडिएका २७ वटा पशुहरु रहेका नगरपालिकाले जनाएको छ ।

दुग्ध कृषकले बाहिरी जिल्लाबाट दुधका लागि ल्याएको जर्सी गाई, बर र खेतबारी जोत्न नसक्ने पशुचौपायालाई छोड्ने क्रम रोकिएको छैन् । विगतमा नगरपालिकाको पटक–पटक ध्यानार्कषण गराउँदा समेत व्यवस्थापनमा चासो देखाएको थिएन् । बजारभित्रका केही दुर्घटनाको कारण छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ छ।

छाडा चौपायालाई नियन्त्रणमा लिएर बिक्री गर्ने वा कान्जी घर बनाएरसमेत राख्न सकिन्छ। कान्जी घरमा राखेर आवश्यक प्रक्रिया पूरा गरी लिलाम गर्न सकिन्छ। स्थानीय सरकारले कार्यविधि नै बनाएर छाडा चौपाया नियन्त्रण गरी लिलाम बिक्री गर्ने व्यवस्था छ।

 

 

Leave a Reply