म्याग्दीकी लोकगायिका धनकुमारी थापा गण्डकी प्रज्ञा प्रतिष्ठानबाट सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा सम्पन्न भएको ‘गण्डकी प्रज्ञा उत्सव’ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थायी घर भएकी थापालाई गण्डकी प्रज्ञा नृत्य सम्मानबाट नगद २५ हजार, कदरपत्र र दोसल्लाहले सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, प्रतिष्ठान उपकुलपति गोरे गुरुङले सम्मान गर्नुभएको थियो । चिमखोलामा जन्मिएर लोकगित लोकसंगित, लोकदोहोरी, लोकसंगीतलाई जिवन्त तुल्याउन महत्वपूर्ण भूमिका निभाउनु भएको छ ।

बि.स २०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षण पास गरेपश्चात निरन्तर लोकसंगीतमा सक्रिय थापा२०४३ सालमा पुराना लोकगीत, भाकाहरु आफ्नै स्वरमा संकलन गरी शिरफुले, सालैजो,यानीमायाँ, मारुनी, साइनो भाका लगायत थुप्रै लोपउन्मुख भाकाहरूमा आफ्नो आवाज दिनुभएको छ ।

सम्मानित थापाले लोकसंगीतमा अझै निरन्तर सक्रिय हुने बताउनुभयो । ‘म्याग्दीको मौलिक कला र संस्कृतिको जर्गेना अझै गर्नुपर्ने छ,‘पूराना भाका सन्ततीहरुका लागि उपहार पनि हो’ थापाले भन्नुभयो । म्याग्दीका हरेक लोकसंगीत कार्यक्रममा अझैपनि लोकगायिका थापा सक्रिय हुनुहुन्छ । म्याग्दीलाई चिनाउने मौलिक गीतसंगीतमा सक्रिय थापाले यसअगाडी समेत थुप्रै स्थानीय तथा राष्ट्रिय सम्मान पाउनुभएको छ ।

Leave a Reply