सदरमुकाम बेनीमा आज (आइतबार) स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ पारेर द्वन्द्वपीडित अधिकार मञ्च बेनी, म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको समन्वयमा जनप्रतिनिधि, सरोकारवाला र द्वन्द्वपीडितहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको थियो । स्मृति कार्यशाला गोष्ठीमा प्रशिक्षक रमेश अधिकारीले १० वर्षे सशस्त्र द्वन्द्वले पारेको प्रभावलाई स्मृतिमा कसरी उतार्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले दशवर्षे द्वन्द्वले पारेको प्रभाव र त्यतिबेला भएका घटनाप्रति अब प्रतिशोधको भावना नराखी स्मृतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले १० वर्षको अवधिमा नेपालमा भएका लँडाइहरुमध्ये म्याग्दी आक्रमण पनि निकै ठूलो भएको बताउँदै नगरपालिकामार्फत तत्कालीन आक्रमणलाई सम्झने खालको संरचना बनाइने बताउनुभयो । उहाँले बेनी आक्रमणमा परी मृत्युवरण गरेका शहिदहरुको सम्मानमा युद्ध सङ्ग्रहालय बनाई जिल्लामा पर्यटन प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आफू पनि दशवर्षे सशस्त्र द्वन्द्वबाट पीडित व्यक्ति भएकाले अब नगरपालिकाबाट द्वन्द्वपीडितको घाउमा मल्हम लगाउन आवश्यक पहल थालिने बताउनुभयो । उहाँले दशवर्षे द्वन्द्वले देशमा गणतन्त्र, सङ्घीयता ल्याएको र कतिपय अधिकारहरु संविधानमा लेखिएकाले अब कार्यान्वयन गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले छुट भएका द्वन्द्वपीडितहरुको नाम समावेश गर्न स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउँदै द्वन्द्वपीडितलाई जुनसुकै समयमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका उपसभापति अमर बानियाँ र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल जिल्ला अध्यक्ष देवी केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य र द्वन्द्वपीडितहरुको परिवारका सदस्यहरु सहभागी कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्चका जिल्ला अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता, सचिव सुरेन्द्र खत्रीको सञ्चालन र सहसचिव मिना कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच स्मृति कार्यशाला गोष्ठीको अवसरमा आयोजित द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले पुनः भीमबहादुर रिजालको अध्यक्षतामा नयाँ समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना कार्की, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा देवीकुमारी केसी, सहसचिवमा डोलकुमारी बानियाँ, सदस्यहरुमा योगेन्द्र बानियाँ, जमुना खत्री, ठकबहादुर पूर्जा र देउमाया बुढाथोकी रहनुभएको छ ।

Leave a Reply