हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ। लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा नौ होलको कोर्ष बनाउन शुरु गरिएको हो। कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ। अरु सबैजसो बनाई सकिएको सदस्य विष्टले बताए।

‘नौ होलको कोर्ष बनाएका छौं। बंकर र टी बक्स तयार भईसकेको छ,’ विष्टले भने, ‘अब ग्रीन तयार गर्ने छौं। ग्रीनको लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर (भुवन) गुरुङ आएपछि तयार पारिने छ।’ कोर्ष तयार भएपछि यो विश्वकै उच्च उचाईको कोर्ष बन्ने छ। कोर्ष समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईस्थित लोमान्थाङ–५ लोवाथाङ बनाइएको छ। हाईअल्टिच्युड गल्फ कोर्षले आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धनमा कोशेढुंगा हुने विश्वास छ।

अहिले विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब भारतको सिक्किममा छ। सिक्किमको ३ हजार ९ सय ७० मिटरको उचाई याक गल्फ क्लब छ। बोलिभिको ला पाज गल्फ क्लब ३ हजार २ सय ६० मिटरको उचाईमा छ। जुन विश्वकै दोस्रो अग्लो स्थानको गल्फ क्लब हो। त्यस्तै चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब ३ हजार ३८ मिटरको उचाईमा छ। अमेरिकाको कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाईमा छ।

कोर्ष बनाउन प्रदेश सदस्य विष्टले १० लाख रुपैयाँ खर्चिएका छन्। पूर्वाधार विकास अन्तर्गत उनले कोर्ष बनाउन खर्चिएका हुन्। विष्ट आफैं पनि पछिल्लो समय गल्फप्रति चाख राख्दै आएका छन। विष्टले पोखराको हिमालयन गल्फ क्लब र काठमाडौंको गोकर्ण गल्फ क्लबमा समेत एमेच्योर प्रतिस्पर्धा गरिसकेका छन्। त्यसैले पनि उनले लोमान्थाङमा हाईअल्टिच्युड गल्फ कोर्ष बनाउन चासो दिदैं आएका थिए।

गल्फको प्रवद्र्धन गर्न स्थानीय तहले समेत प्रतियोगितात्मक कार्यक्रमको लागि १० लाख रुपैयाँ छुट्टाएको छ। ‘लोमान्थाङ गाँउपालिकाले गल्फ प्रतियोगिताको लागि १० लाख रुपैयाँ छट्टाएको छ,’ उनले भने, ‘हामीले लोमान्थाङमा हाईअल्टिच्युड कोर्षमा प्रतियोगिता आयोजना गरेर साहसिक खेलको रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौं।’

‘पहिला फिल्ड हेर्नुपर्छ। फिल्ड हेरेपछि मात्रै नौ होल या १८ होल कुन उपयुक्त हुन्छ त्यही बनाउने विषयमा निर्णय हुन्छ,’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले भने, ‘फिल्ड भएसम्म फराकिलो बनाउन उपयुक्त हुन्छ।’ उनका अनुसार नौ होललाई फिल्ड भएअनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ। ‘टि बक्स, फेयर वे, गी्रन बनाउनुपर्छ,’ उनले भने, ‘फ्रन्ट नाईन र व्याक नाईनको टिबक्स हुनुपर्छ।’

लोमान्थाङको प्रकृति र बस्तुस्थिति झल्कने गरी होलहरुको नाम राख्ने योजना छ। ग्री्रनको डिजाईन अन्यको भन्दा ‘युनिक’ बनाईने सदस्य विष्टको भनाई थियो। लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्युड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ। फुटबल मैदानसहित बास्केटबल, भलिबलको कोर्ट समेत निर्माणाधिन अवस्थामा छन्।  nagariknews.com

Leave a Reply