आशिष पौडैल\ म सानैदेखि कम बोल्ने र दुई चार जना मान्छेहरुका अगाडी बोल्न डाराउने स्वभाव भएको व्यक्ति थिए। मलाई अझैपनि याद छ कक्षा सातमा पढ्दा विद्यालयको प्रार्थनाको क्रममा शिक्षकले दिनुभएको विषयमा बोल्दा मेरो होस नै उडाइदिएको थियो । भयभित अवस्थामा नै मैले के–के वाचन गरेर आए पत्तै भएन् ।

झन् १६ वर्षको उमेर हुँदा आँखाको ज्योती नै गुम्दै गएपछि त नजिकका साथीभाई बाहेक अन्य समाजमा रहेका व्यक्तिहरुसँग संवाद र बोलचाल गर्न नै असहज र अप्ठ्यारो हुँदै गयो । दुबै दृष्टि गुमेपछिको दिन मेरो जीवनको सबैभन्दा कष्टकर थियो । दृष्टि गुमेपछि मेरो औपचारिक शिक्षा पनि बिचमानै छुट्यो।

परिवार बाहेक समाज र सार्वजनिक स्थानमा बोल्दाको त्यो भय घट्नुको साटो बढिरहेको थियो । दृष्टि गुमेपछिको अवस्थामा मैले भयलाई मेटाउने धेरै प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन् । विगतका केहीवर्षदेखि विभिन्न कार्यक्रम र तालिममा सहभागी जनाउँदै आएपनि स्टेजमा गएर बोल्ने, विभिन्न विषयमा आफ्नो मन्तब्य राख्न सक्ने अवस्थामा थिईन् ।

मैले अपाङ्ता सम्बन्धि विभिन्न तालिममा उपस्थित भएपनि उद्घोषण, भाषणकला तथा नेतृत्व विकास सम्बन्धि तालिम लिने अवसर पाएको थिईन् । मैले माईक लिएर स्टेजमा बोल्ने अभ्यास गर्ने पहिलो अवसर यसै तालिममा नै पाए । तालिममा मैले नेतृत्व विकास तथा संघसंस्था वा कार्यालयले बैठक बसी निर्णय गर्दा कसरी माइन्यूटिङ वा निर्णय पुस्तिकामा लेख्ने तरिका पनि सिके ।

बोल्नु र विधिपूर्वक बोल्नुमा धेरै फरक हुने रहेछ भन्ने जानकारी भयो । ब्यवसायिक सिप विकास केन्द्र पर्वतको आयोजना र अपाङ्ग संघ म्याग्दीको समन्वयमा भएको १५ दिने उद्घोषण तालीम लिएपछिको अवस्थामा मेरो जीवनमा धेरै परिवर्तन आएको छ। ब्रेलमा लेखेर स्टेजबाट सम्बोधन गर्दाको अवस्थामा धेरै त्रुटी हुने अवस्थामा तालिमबाट मैले धेरै सिक्ने अवसर पाए । कार्यक्रम कसरी सञ्चालन गर्ने ? कसरी मन्तब्य दिने ? के बोल्ने ? सहित नेतृत्व विकासमा ध्यान दिनुपर्ने विविध विषयमा जानकारी पाए ।तालिमको दुईदिन मैले केही बोल्न सकिँन ।

एकदुईपटक मञ्चमा पुग्दा खुुट्टा कामेका पनि थिए। तालिममा सहभागी साथीहरूको साथ र प्रशिक्षक हरिकृष्ण गौतम सरको समेत निरन्तर चासोले मैले तेस्रोदिन देखि हरेक गतिविधिमा नियमित सहभागिता जनाउन थाले । भनिन्छ, मानिसको व्यक्तित्व बोलीमा झल्किन्छ । मानिसले बोल्ने कुराले उसको समग्र प्रवृत्तिको प्रतिनिधित्व गर्छ । कुन कार्यक्रममा के बोल्ने, कति बोल्ने भन्ने विचार गर्न नसक्ने मैले तालिमबाट साना कार्यक्रमदेखि आमासभासम्म बोल्दा बिचार गर्नुपर्ने धेरै विषयमा जानकारी पाए ।

कुनै पनि कार्यक्रमको मुटु नै उद्घोषक रहेछ । १५ दिने तालीमले धेरै कुरा सिकायो । तालीम उद्घोषण अचम्मको कला । मञ्च वरपर बसेका अतिथि र सयौं दर्शकहरूको मनोविज्ञान बुझेर प्रस्तुति दिनुपर्ने । दृष्टिविहिनहरूले सञ्चालन गर्ने कार्यक्रम, सहभागी मन्तब्य सहित अन्य गतिविधिमका सबैको ध्यान हुने भएकाले पनि जोस, जाँगर भरेर कार्यक्रमलाई आर्कषक बनाउनुपर्छ भन्ने सन्देश समेत तालिमबाट पाए । मैले कार्यक्रम सञ्चालक, स्वागत मन्तब्य, अतिथि मन्तब्य, प्रमुख अतिथि र सभापतिको भूमिकामा समेत अभ्यास गरे ।

आयोजकले दिएको समय सीमामा कार्यक्रम सक्नुपर्ने सञ्चालकको भूमिकादेखि बिषय सन्र्दभ मिलाएर बोल्नुपर्ने प्रमुख अतिथिको भूमिकामा समापनको दिनसम्म प्रष्ट भए ।

कार्यक्रम चलाउनुलाई सामान्य सम्झिनु गलत रहेछ । मैले नियमित अभ्यासपछि ब्रेलमा लेखेर समेत कार्यक्रम सञ्चालन गर्न नपर्ने अवस्थासम्म पुग्दा निकै खुसी लागेको छ । तालिमको समापनको दिनमा समेत मैले अनुभव सुनाउँदा समेत यहाँ लेखेको सबैजसो कुरा सुनाएको थिए ।

कापीमा लेख्न त सजिलो हुने तर त्यही कुरा बोल्न अप्ठ्यारो हुने अन्य साथीहरूको अनुभव थियो । रहर मनमा थियो स्टेजमा बोल्ने र सबैको अगाडि आफ्नो विचार व्यक्त गर्ने त्यो १५ दिने तालिमबाट पूरा भएको छ ।

उद्घोषण तालीमले ऊर्जा दिएको छ । तालिमको अन्तिम दिन मेरो बहिनी समेत पुगेर मेरो क्षमता हेरिन् जसले मलाई आत्मविश्वासी बन्न सिकाएको छ। मेरो बुबा शिक्षक हुनुहुन्छ । लामो समयसम्म म्याग्दीमा स्रोतब्यक्ति समेत भएर काम गर्नुभयो । बुबाले समेत मेरो क्षमतामा आएको परिवर्तनबाट निकै उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।

मञ्चमा निर्धक्क भएर बोल्न सक्नुको मतलब दृष्टिविहिन भएपनि यो संसारमा मैले सजिलै प्रतिस्पर्धा गर्न सक्छु भन्ने आँट र विश्वासको भारी बोक्नु हो । अब मैले जीवनक कुनै पनि मोडमा हिँड्न सक्नेछु भन्ने लागेको छ । यो तालिमले मलाई एक कुशल उद्घोषक बन्ने बाटो खनिदिएको छ ।

सिप विकास कार्यलय पर्वत, अपाङ्ग संघ म्याग्दी सहित तालिममा २२ जना सहभागि मित्रहरुसँग म पनि सहभागि हुने अवसर पाएको थिएँ। यस तालिमको अनुभव र मैले सिकेका सिपको बारेमा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा प्रशिक्षक आदरणिय हरिकृष्ण गौतम सरलाई धन्यवाद दिन चाहन्छु।

Leave a Reply