म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रघुगंगा गाउँपालिका-३ रघुगंगा माविकी सविना विकले एथलेटिक्समा सानदार खेल प्रर्दशन गरेकी छन् ।

रघुगंगा माविमा कक्षा ८ मा अध्ययनरत विकले एथलेटिक्स विधाका खेलमा दबदबा कायम मात्रै गरिन् एक्लै विद्यालयलाई ५ स्वर्ण र एक रजत पदक दिलाईन् । पहिलोपटक जिल्लास्तरीय खेलमा सहभागी भएकी सविना डेब्यु खेलमै एथलेटिक्समा चम्किएकी छन् । १२ बर्षिया विकले ३ हजार, १५ सय, ८ सय, रिले दौड, लङजम्प विधामा स्वर्ण सहितको पदक जितेर प्रतियोगिताकै चर्चाको खेलाडी बनिन् ।

प्रतियोगिताको हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर दर्शकलाई समेत चकित पारिन् । सामान्य परिवारमा जन्मिएकी सविनाको बुबा बैदेशिक रोजगारको सिलसिलामा खाडीमा छन् ।आर्थिक अवस्था कमजोर भएपनि एथलेटिक्स विधामा चम्किएकी सविनाले प्रदेशस्तरीय प्रतियोगितामा समेत पदक लिएर मात्रै घर फर्किने बताईन् ।

प्रदेशमा सफलता मिलेपछि राष्ट्रियस्तरको खेलबाट कुनै समय देशका लागि खेल्ने सपना रहेको बताईन् । ’जिल्लाको खेलबाट धेरै उत्साहित भएको छु,‘मैले तालिम सहितको अवसर पाए धेरै राम्रो गर्न सक्छु’ विकले बेनीअनलाइनलाई भनिन्। आफ्नो खेलप्रतिको रुचीको अन्तिम लक्ष्य नै देशको तर्फबाट प्रतियोगितामा सहभागी हुने रहेको उनको भनाई छ ।

एथलेटिक्स अन्तरगतका खेलको अनुभवी प्रशिक्षकबाट तालिम लिने सविनाको धोको छ ।गाउँघरमा सामान्य अभ्यासबाटै जिल्लास्तरीय प्रतियोगितामा ५ स्वर्ण पदक जितेकी सविनाले नियमित अभ्यास सहितको निगरानी भएमा उत्कृष्ट बन्ने विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले बताए । ‘ एथलेटिक्स विधामा अलराउन्ड सविनाले समान्य अभ्यासबाटै ठूलो सफलता प्राप्त गरेकी छन्,‘सबैको साथ र सहयोग पाए धेरै राम्रो गर्न सक्छिन्’ प्रअ ठकुरीले भने ।

सविनाको एकल स्वर्ण पदकले विद्यालय सम्रग जिल्लाको नतिजामा दोस्रो भएको छ । विद्यालयले ५ स्वर्ण, ६ रजत र २ काँस्य पदक जितेको थियो । प्रतियोगितामा बेनी नगरपालिकाबाट सहभागी न्यू वेष्ट प्वाइन्ट आवासीय माविले १६ स्वर्ण, ७ रजत र ८ काश्य पदक सहित प्रथम भएको छ ।यसपटकको प्रतियोगितामा विगतको भन्दा फरक दृष्य देखियो । बर्खाको समयमा प्रदेशस्तरीय राष्ट्रपति कपको कार्यतालिका सार्वजनिक भएपछि हतार–हतार जिल्ला खेलकुद विकास समितिको आयोजनमा सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा अभाव र गरिबीको भूमरीमा परेको विद्यार्थीले सानदार खेल प्रर्दशन गरेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण सन्तानको खुसीका लागि समुन्द्रपारी पुगेका अभिभावकलाई समेत स्वर्र्ण सहितको पदकको सन्देश पठाउन सफल भएका जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले बताए ।उनले गरिबीकै कारण खेल विधामा सहभागिताको अवस्थालाई अन्त्य गरिने बताए ।

उनले प्रदेशस्तरीय प्रतियोगितापछि समस्या पहिचान गरी समाधानका लागि उचित पहल गरिने प्रतिबद्धता जनाए । प्रतियोगितामा दुःख गरी हुर्किएकाहरूको पदकका बारेमा बेनीअनलाइनले प्राथमिकताका साथ समाचार सम्प्रेशन गरेको छ।

Leave a Reply