हिराको हार पाउने प्रलोभनमा महिलाहरु ठगिन थालेका छन् । मुलुक बाहिर रहेको गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलाहरुसँग सामाजिक सञ्जालबाट जोडिदै नजिकको नाता कायम राखी गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका छन् ।

ठगिएको उजुरी बोकेर आएका महिलाहरुका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘केही साता देखि आफू ठगिएको महसुस गरेका महिलाहरुको जाहेरीका आधारमा शुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा गिरोहद्वारा महिलाहरु प्रलोभनमा परेर ठगिने गरेको सूचना आएको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘एकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेका छन् । उनीहरुबाट प्राप्त सुचनाका आधारमा गरिएको अनुसन्धानले धेरै ब्यक्तिहरु ठगिने गरेको खुलासा भएको छ ।’

ठग्ने गिरोह भने नेपाल बाहिर छ । उनीहरुको नाम वतन केही खुल्न सक्दैन । गिरोहले नेपालकै ब्यक्तिहरु प्रयोग गरेर, उनीहरुकै नाममा बैक खाता खोल्न लगाई एटिएम र चेक समेत कुरियर मार्फत पठाउने गरेका छन् । प्रहरी प्रमुख एसपीचक्रराज जोशीले सर्वसाधारण ठगिनबाट जोगिन प्रलोभनमा नफस्न अनुरोध गर्नुभयो । प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएस्पी हरि खतिवडाका अनुसार महिलाहरुलाई गिरोहले सामाजिक सञ्जालबाट सम्पर्क गर्छन । दैनिक सम्पर्क हुँदा घनिष्ठता बढ्दै जान्छ । अन्तिममा दाजु बहिनीको नाता कायम हुन्छ । दाजुले आफ्नो परिचय दिदैनन् । फोटो देखाउँदैनन् । सम्पन्न मुलुकहरुमा बस्ने, घुम्ने र विदेश पठाउने काम गर्ने बताउँछन् ।

जिल्लाको पनौतीमा ठगिएकी एक महिलाको घटना रहेको डिएस्पी खतिवडाले बताउनु भयो । लण्डनमा रहेकाले हिराको गहना विक्री गर्ने पसल आफ्नै भएको, बंगाला रहेको र सम्पन्न भएकाले नेपालमा बहिनीलाई उपहारस्वरुप हिराको हार पठाउने भन्दै विभिन्न गहनाको तस्विर पठाउने गर्छन । फोनमा उसले कहिल्यै कुरा गर्दैन । एसएमएसमा लेख्ने र तस्विर पठाएकै आधारमा पत्याउन कर लाग्छ । झण्डै ६ महिना पछि उसले बहिनीलाई ५० लाख रुपैयाको हार पठाएको बताउँछ । तर उ १५ दिन अन्य मुलुक जाने भएकाले सम्पर्क नहुने बताउँछ । केहि दिन पछि भारतको राजधानी नयाँदिल्ली भन्दै अपरिचित नम्वरबाट फोन आउँछ । ‘तपाईको ५० लाख रुपैयाको हिराको गहना आईपुगेको छ । सामान तपाईको ठेगानामा पठाउन १० प्रतिशत शुल्क लाग्छ । केहि दिन वेवास्ता हुँदा उसले सामान गायव बनाई दिने धम्की दिन्छ । उता लण्डनमा रहेका भर्खर चिनजान भएका दाईले उपहार पठाई दिएको महङ्गो गहना हराउँदा के होला ? ति महिलाले आफन्त समेतलाई नभनी उसले भनेको दुईवटा खाता मध्ये एउटामा ३ लाख र अर्काेमा २ लाख रुपैया जम्मा गरिदिन्छिन् । केहि दिनसम्म सामान नआए पछि मात्रै थाहा पाउँछिन हिराको हारको लोभमा आफु ठगिएँ ।

तत्काल प्रहरीकोमा आएकी ति महिलाले खातामा जम्मा गरिदिएको रकमका आधारमा प्रहरीले भोजपुर र पनौतीबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको बयानका आधारमा नेपालमा त्यस्ता ठगी लामो समयदेखि भईरहेको छ । गिरोहले नेपालमै रहने ब्यक्तिहरुलाई थोरै कमिसन दिएर बाँकी रकम आफू निकाल्ने गरेका रहेछन् । पक्राउ परेका ब्यक्तिको खाताका आधारमा भएको अनुसन्धानले नजिकका ब्यक्तिहरुको नागरिकता लिने र खाता खोलिदिने, त्यहि बैकको खाता भारतमा प्रयोग गरेर रकम निकाल्ने गरेको खुलेको हो ।

कुरियर मार्फत खोलिएका नयाँ खाताको कागजात पठाएसँगै सहजैसँग रकम निकालिरहेको अनुसन्धानले देखाएको छ । महिलाहरु आर्कषक गहना लगाउने लोभमा दिन प्रतिदिन ठगिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरु पनि उनीहरुबाट ठगिए पछि यस्तो धन्दामा लागेको बताएका छन् । newsofnepal.com

Leave a Reply