आजको दुनियाँमा सन्तानले केवल पैसा कमाएर दिए सन्तोष मान्ने अभिभावक अधिक छन् । र छन् आफ्ना आमा बुबालाई पैसा पठाइदिए सम्पूर्ण दायित्व, अभिभारा पुरा भएको ठान्ने सन्तानहरु । र त विभाजित मन सहित भौतिक दुरीमा बाँचिरहेका छन् सगोलका परिवार पनि । यस्तो लाग्छ कि आजका सन्तानहरु दशैं, तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा मात्र होइन, जीवनको अन्तिम गन्तव्य घाटमा आउने समय पनि हिसाब किताव गर्नेछन् उनीहरु । यी र यस्ता पछिल्ला परिदृश्यले बाबुआमा र छोराछोरी बिचको पारिवारिक सम्बन्ध, निकटता, आत्मियता, हार्दिकता, दायित्व डिजिटल दुनियाँको औपचारिकतामा सीमित हुँदै गइरहेको देखाउँछ।

पेटमा पानीः कलेजो ड्यामेज
आजको समयमा बाआमा सँगै बसेर परिवारको दायित्वबोध, बुढ्यौली लागेका र लाग्दै गरेका अभिभावकको रेखदेख गर्ने सन्तान पाउनु अहोभाग्यको विषय बनेको छ । यही बेला यस्तो एउटा सुखद खबर आएको छ कि एक सन्तानले आफ्ना बुबालाई कलेजो उपहार दिएका छन् । बागलुङ नगरपालिका-२ का निलेश राजभण्डारी (४०)ले आफ्ना बुबा अशोकगोविन्द राजभण्डारी (७०) को कलेजोले काम नगर्ने अन्तिम अवस्था जीवन मरणको दोसाधमा पुगेका बेला कलेजो दिएर बचाएका छन्। बुबालाई कलेजो काटेर दिए पछि निलेशलाई एक महान छोरा ‘अ ग्रेट सन’ भन्दै धेरैले उनको प्रशंसा गरेका छन् ।

अशोकगोविन्दको अस्वभाविक रुपमा पेट बढ्यो । पोखराको गण्डकी मेडिकल कलेजमा आएर परीक्षण गरियो । परीक्षणका क्रममा पेटमा पानी जमेको पत्ता लाग्यो । त्यसपछि काठमाण्डुको ग्राण्डी अस्पताल, भक्तपुर र चितवनको अस्पताल सम्म धाएको निलेश बताउछन् । यस्तो किन भयो भनेर थप सोधखोज र परीक्षणबाट कलेजो ड्यामेज भएको पहिचान भयो । रोग पत्ता लागे पछि राजभण्डारी परिवार कलेजो प्रत्यारोपणको उपायको खोजीमा लाग्यो । नेपालमा निकै ढिलाई,कम संख्यामा हुने भए पछि भारतको नयाँ दिल्ली पुगे । पहिलो पटक कलेजो लिने दिनेबारे सबै प्रक्रिया बुझे पछि नेपाल फर्किए । त्यसको तीन महिना पछि गत साउन ४ गते दिल्लीको म्याक्स अस्पतालमा अप्रेशन गरियो ।

जहाँ अशोकगोविन्दलाई उनका कान्छा छोरा निलेश राजभण्डारीले आफ्नो कलेजो दान गरे । छोराले आफ्नै बाबुलाई कलेजो दिनु कुनै पहिलो र नौलो काम त होइन तर, आजको सम्बन्धहरुको कस्मेटिक दुनियाँमा यो अनुपम र उदाहरणीय कार्य भएको कलेजो दान गरिसकेको म्याग्दीका चन्द्रकुमार केसी बताउँछन् । ‘कलेजो दान दिएर छोराले बुवाको जीवन बचाए, उनी यति धेरै भाग्यमानी रहेछन्, निलेश भगवानको अर्को रुप बन्न सके । जीवनमा यस्तो मौका कम मान्छेले मात्र पाउँछ र उपयोग गर्छ । अब उनले आफ्नो बाबालाई सम्झेर जीवनभर मुस्कुराइ रहन पाउनेछन् ।’निलेश बागलुङ बजारमा होटल पिस प्यालेसका सञ्चालक हुन् । उद्योग बाणिज्य सघंका सदस्य रहेका उनी जेसीस अभियानमा पनि सक्रिय छन् ।

कलेजो दानको कथा
मानव शरीर भित्रको सबैभन्दा ठूलो अंगका रूपमा लिइन्छ कलेजो । जसले पाचन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ । रगतमा रहेका हानिकारक पदार्थलाई निष्क्रिय बनाउछ । विभिन्न खालका प्रोटिन बनाउने जस्ता धेरै काम कलेजोले गर्छ ।

यही महत्वपूर्ण कलेजो ड्यामेज भए पछि प्रत्यारोपणको विषय आयो । यसमा कसले दिने भन्नेबारे परिवारका सदस्य र डाक्टरहरुसँग धेरै छलफल भयो । नेपाल र दिल्लीमा चिकित्सकहरुसँग परामर्श गर्ने क्रममा म आफै दिन्छु । दिनका लागि पहिले परीक्षण गर्नुपर्ने रहेछ, परीक्षण गर्दा ठिकै भएकाले म योग्य भए,’ उनले भने, ‘परिवारका सदस्यहरुमा सुरुमा त एक किसिमको डर देखिन्थ्यो तर, डाक्टरहरुले राम्रो काउन्सिलिङ गरे पछि सहज भयो ।’ आफ्नो बुबालाई कलेजो दिन पाएकोमा निलेशको अनुहारमा छुट्टै खालको सन्तुष्टि भाव देखिन्थ्यो । ‘आफ्नो अंग दिएर बुवालाई बचाउन पाउँदाको खुशी कुन शब्दमा पो व्यक्त गर्न सकिएला र ? म त भाग्यमानी छोरा रहेछु । यस्तो सौभाग्य निकै कम छोराहरुले पाउँछन्,’ उनले भने । बुबाको असली अभिभावकत्व प्रति एक छोराले आफ्नो सम्मान र समर्पण भाव प्रमाणित गर्ने अवसर पाएकोमा उनी प्रशन्न छन्।

‘बाबाको कलेजो पूर्ण रुपमा खराब भएको रिपोर्ट आए पछि हामी परिवारका सबै सदस्य तनावमा थियौ, बिभिन्न अस्पतालका डाक्टरसँगको परामर्श पछि प्रत्यारोपणको विकल्प सुझाउनु भएको थियो,’ निलेश भन्छन्, ‘तैपनि के होला ? कसो होला ? भन्ने मनमा एक खालको भय थियो, आफूलाई कलेजो दिने भनेर त मानसिक रुपमा तयार गरेको थिए, सफल हुन्छ हुन्न भन्ने द्धिविधा थियो, काम गरे पछि निकै आनन्दको अनुभूति भइरहेको छ ।’ अब प्रत्यारोपण पछि बाबाको ओठमा हाँसो हेर्न आतुर रहेको राजभण्डारीले बताए ।

कलेजो दान गर्ने क्रममा लागेको ९ घण्टाको समय, सकस, अर्धचेत अवस्था, प्रतिक्षाको पीडा बुबाको सफल प्रत्यारोपण भएको खबर पाउँदा साथ एकाएक बिर्सिएको उनको कथन छ । कलेजो प्रत्यारोपणमा अप्रेशन दिनेका लागि ९ घण्टा, लिनेका लागि १२ घण्टा जति समय लागेको उनी बताउँछन् । नेपालमा २० लाख खर्च हुन्छ भने भारतमा ५० लाख बढी खर्च भएको उनको भनाई छ । तर, नेपालमा वर्षमा निकै कम संख्यामा कलेजो प्रत्यारोपण हुन्छ । जसका कारण उपचार समयमै पाउन कठिन छ । भारतमा छिटो उपचार हुने र दक्ष जनशक्ति, उपकरणबाट गुणस्तरिय सेवा र उपचार पाउने भएकाले खर्च बढी हुने उनले बताए ।

कलेजो दान कसरी गर्ने ?
मानव अंग किनबेच नहोस् भन्ने उद्देश्यले दाता आफ्नै नाताभित्रको हुनुपर्ने कानुनी प्रावधान छ । अहिले नेपालको कानुनले पनि अंग दानलाई धेरै सहज बनाइदिएको छ । कलेजो दान गर्दा एउटै भएको कलेजोको टुक्रा काटेर दिनुपर्ने हुनाले कलेजो प्रत्यारोपण गर्न ठूलो चुनौती भनेको दाता अभाव हो । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंग दान गर्दा दुई वटा कुरा हेरिन्छ । एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको कुरा हेर्नुपर्ने हुन्छ । जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ ।

फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन । बिरामी र डोनरको ‘ब्लड गुप्र’ मिल्नुपर्छ । यो बाहेक कानुनी रूपमा आफ्नो बुवा–आमा, दिदी–बहिनी, दाजु–भाइ, काका–काकी बाहेक पनि अलिकति टाढाको नातेदारले पनि दिन पाउँछन् । तर नाता प्रमाणित भने हुनुपर्ने हुन्छ । एकपटक कलेजो दान गरेपछि अर्को पटक दान गर्न भने मिल्दैन । जसका कारण अरू अंगमा पनि बढी जोखिम हुनसक्छ ।

‘अब म कलेजो प्रत्यारोपणबारे सचेतना जगाउँछु’
कलेजो दिने मान्छे तीन महिनामा पुरानै लय र स्वास्थ्य अवस्थामा फर्किन सक्छ । औषधि पनि खान पर्दैन । शरीर कमजोर, अरु काम गर्न नमिल्ने पनि हुँदैन ।

कलेजो आफैले उत्पादन गर्ने अंग हो । ‘कलेजो दिने व्यक्तिलाई एक प्रतिशत र लिने मान्छेलाई ३ प्रतिशत जोखिम हुँदो रहेछ, जबकि रोग लुकाएकै या पहिचान नभएकै कारण धेरैले अकालमै ज्यान गुमाइरहेका रहेछन्’, कथालिकासँगको संवादमा बुबालाई कलेजो दान गरेका राजभण्डारीले भने, ‘मलाई पनि डाक्टरले ६ हप्तामा जस्ताको तस्तै हुन्छ भन्नुभएको छ, ८० देखि ९० प्रतिशत रिकभर हुँदोरहेछ । यसबारे धेरै कुरा बुझ्न र बुझाउन अपरिहार्य देखेको छु, मैले मेरो व्यक्तिगत तर्फबाट पनि सक्दो गर्छु र सरकार, सरोकारवाला निकायलाई पनि झकझकाउन भूमिका खेल्नेछु ।’ अहिले कलेजो प्रत्यारोपणबारे आफैमा भएको थुप्रै भ्रमबाट समेत मुक्त भएको उनी बताउँछन् । कलेजो कसरी जोगाउने, यसमा समस्या आइसके पछि प्रत्यारोपण गर्ने, दान गर्ने लगायतका विषयमा नेपाली समाजमा यथार्थ यथेष्ट जानकारी नै छैन । अब नेपाल फर्किएर कलेजो प्रत्यारोपणबारे सचेतना जागरण अभियान चलाउने निलेशले बताए । Source: kathalika.com

Leave a Reply