पर्वतको जलजला गाउँपालिका-३,पर्वत बेनीकी ६२ बर्षिया रेणु मल्लले १.८५ जिपिए ल्याएर एसईई उत्र्तिणा गर्नुभएको छ ।सदरमुकाम बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट ०७८ को एसइईमा सहभागी हुनुभएकी मल्लले आफ्नो जीवनको एउटा सपना पूरा भएको बताउनुभयो ।

बुधबार सार्वजनिक भएको नतिजाबाट मल्लसहित बेनीकी ४४ वर्षीय दिलशोभा पुनको २.१० जिपिए र ५१ वर्षीय योगमाया गौतमले पनि १.५५ एसईई उत्तीर्ण गरेका गर्नुभएको छ । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि विविध कारणले विद्यालय नभई घरमा बसेका आमाहरुलाई लक्षित गरी बि.स २०७३ सालमा स्थापना भएको विद्यालयबाट यसबर्ष ३ जनाले उत्र्तिणा गर्नुभएको थियो ।

‘हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, पढ्ने रहर हुँदाहुँदै विबाह गरेर जानुपर्यो,‘छोराछोरीले जस्तै एसईई पास गर्ने चाहना धेरै बर्षपछि बल्ल पुरा भयो’ पुनले भन्नुभयो । नियमित विद्यालय जाने विद्यार्थीको तुलनामा कम जीपिए आएपनि आफ्नो क्षमता अनुसारको नतिजा आएकोमा आमाहरु उत्साहित हुनुहुन्छ ।

बाध्यताले बीचैमा अध्ययन छाडेर घर सम्हालेर बसेको अवस्थामा पुनः अध्ययन गर्न मिल्ने उज्यालो वैकल्पिक विद्यालय स्थापना भएपछि आफूहरूको अधुरो रहेको पढ्ने चाहना पूरा भएको योगमायाँले बताउनुभयो । ‘पढ्ने रहरलाई ढिलै भए पनि पूरा गर्न सफल भएका छौँ, हिजो साधारण विद्यालयमा गएर पढ्न सकिएन, आज छोराछोरीहरूले समेत पढाइ पूरा गरिसकेपछि हामीले पढ्ने अवसर मिल्यो,’योगमायाँले भन्नुभयो ।विद्यालयबाट २०७७ को एसईईमा ७ जना आमाहरुले एसईई उत्तीर्ण भएका थिए ।

औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाहरुलाई गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको विद्यालयका कावा अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।‘पढ्न उमेरले छेक्दैन भन्ने पुष्टी गर्नुभएको छ,‘आमाहरुको सफलताले उत्साहित छौ,‘सबै क्षेत्रबाट सहयोग प्राप्त भएमा थप जनशक्तीलाई परिचान गर्नेछौ’ शाक्यले भन्नुभयो । आमाहरुको पढाईलाई थप सहजताका लागि सामुदायिक विद्यालयका शिक्षकहरुको समेत सहयोगमा कक्षा सञ्चालन गर्ने गरिएको समितिका शिक्षा संयोजक एवम् बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताउनुभयो ।

नियमित विद्यालय जाने र घरमा पनि छोराछोरीसँग नजानेका कुरा सिक्ने वातावरण बनाइएको छ । विद्यालयमा आमाहरूलाई नेपाली विषयसहित अंग्रेजी, गणित विषयमा पठनपाठनसँगै कम्प्युटरसम्बन्धी समेत सामान्य सीप विकास गरिएको छ । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइका साथै ब्यक्तिगत र निजी संघसंस्थाले समेत सहयोग गर्ने गरेका छन् । विद्यालयमा आर्थिक संकटलाई समाधान गर्न समितिले आर्थिक संकलन अभियान समेत सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply