बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणका लागि कथा आह्वान गरेको हो । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा प्राप्त हुने कथाहरूमध्येबाट बाह्रखरीको आन्तरिक निर्णायकमण्डलले ५० कथा छनोट गरी निर्णायकमण्डललाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा–२०७९’ पुस्तकका लागि २५ कथा छान्नेछन् । त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

12Khari Katha (10)1659261686.jpg

 

यो वर्ष साहित्यकार तथा समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहेका छन् ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष पनि ५०० भन्दा बढी कथाकारले भाग लिएका थिए ।

12Khari Katha (8)1659261681.jpg

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आउँदो भदौ १४ गतेभित्र इमेल ठेगाना [email protected] पठाइसक्नुपर्नेछ । कथा प्रतियोगिताको नतिजा आउँदो असोज ३० गते आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पण पनि गरिने १२खरी बुक्सले जानकारी गराएको छ ।

प्रेस विज्ञप्ति पढ्नोस्–

प्रेस विज्ञप्ति
नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिँदै बाह्रखरी मिडिया प्रा.लि. अन्तर्गतको १२खरी बुक्स, चौथो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गर्दछ । यस खुला प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिन्छ ।

नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरूको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यकासाथ विगत तीन वर्षदेखि १२खरी बुक्सले खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही क्रममा यस वर्ष पनि कथा आह्वान गरिएको अवगत गराउन पाउँदा हर्षित छौँ ।

कथा प्रतियोगिताको सर्तअनुरूप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ । ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा छान्ने र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने जानकारी गराउँदछौँ ।

यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहनु भएको जानकारी गराउँदछौँ । यो गहन अभिभारा लिन स्वीकार गरिदिनु भएकोमा हामी उहाँहरूप्रति आभारी छौँ ।

नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा गत वर्ष पनि पाँच सयभन्दा बढी कथाकारले भाग लिएका थिए । यस वर्ष पनि अझ उत्साहकासाथ व्यापक सहभागिता हुने आयोजकले विश्वास लिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिकासाथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिनेछ ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी भदौ १४ गतेभित्र ‘बाह्रखरी कथा’ को तल उल्लेखित इमेल ठेगानामा पठाइसक्नुपर्नेछ ।

कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिने पनि जानकारी गराउँदछौँ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पण पनि गरिनेछ ।

आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने हाम्रो विश्वास रहेको छ ।

यस वर्ष हामीले उत्कृष्ट कथा–२०७९ लाई नेपाली कथाको थप प्रतिनिधिमूलक संग्रह बनाउने उद्देश्यले केही स्थापित विशेष अतिथि कथाकारसँग कथा उपलब्ध गराउन आग्रह गरेका थियौँ । हाम्रो आग्रह स्वीकार गर्ने अग्रज कथाकारहरू डा. ध्रुवचन्द्र गौतम, माया ठकुरी, डा. बेन्जु शर्मा, राजव र अविनाश श्रेष्ठप्रति हामी अनुगृहित छौँ ।

१२खरी कथा प्रतियोगिताको पहिलो संस्करण ‘उत्कृष्ट कथा–२०७९’ हिन्दी भाषामा अनुवाद भई प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ ।

कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । त्यसैगरी, प्रतियोगितको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो भने तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।

यसरी प्रथम हुने कथाकारले एकलाख, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा अवार्ड प्राप्त गर्नुभएको थियो ।

सर्त तथा नियम
– कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैँले गर्नुपर्नेेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्‍याएर पठाउन पाइनेछैन ।
– निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्त्व दिइनेछ ।
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
–‘१२ खरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘१२खरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘१२खरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
– कथा पठाउनका लागि :
इमेल– [email protected]
सम्पर्क : ०१–५९११६५६, ०१–५९११६५१, ९८०१८४९६१९

Leave a Reply