वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट आज (सोमबार) बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिन उपलब्ध गराइएको वनहार्ट वल्डवाइडले जनाएको छ । उक्त मेसिन वनहार्ट वल्डवाइडका फिल्ड अफिसर भूपेन्द्र सोनी र जिल्ला संयोजक उपेन्द्र चन्दले बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र स्वास्थ्य संयोजक लिला गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।

करिब सातलाख रुपैयाँ मूल्य बराबरको भिडियो एक्सरे मेसिन सहयोग गरिएको वनहार्ट वल्डवाइडका जिल्ला संयोजक चन्दले जानकारी दिनुभयो । नगरपालिकाको ग्रामीण भेगका गर्भवती महिला र पेटभित्र रहेका बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा समय समयमा गर्भको चेकजाँच गर्न र घुम्ती शिविरमार्फत गर्भवती महिलाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिनले सहयोग पुग्ने अपेक्षा गरिएको छ । आगामी दिनमा ग्रामीण भेगमै पुगेर भिडियो एक्सरे गरी गर्भको अवस्था पत्ता लगाइने स्वास्थ्य संयोजक गौतमले बताउनुभयो ।

यसअघि बेनी नगरपालिका र वनहार्टको साझेदारीमा २१ दिने ग्रामीण अल्ट्रासाउण्डसम्बन्धी एकजना नर्सिङ स्टाफलाई तालिम समेत प्रदान गरिसकिएको छ । बेनी नगरपालिकाको लागि ज्यामरुककोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी करुणा थापालाई २१ दिने ग्रामीण अल्ट्रासाउण्डको तालिम दिइएको हो । अब नगर क्षेत्रमा गर्भवती महिलाहरुको भिडियो एक्सरे गाउँमै गरिने भएको छ ।

म्याग्दीको सबै स्थानीय तहमा विगत डेढ वर्षदेखि वनहार्ट वल्डवाइडमार्फत स्थानीय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना सञ्चालन भैरहेको छ । परियोजनामार्फत समुदायस्तरमा सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

Leave a Reply