वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् ।

गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने पक्की पुल बन्दै गरेको हो । मानिस आउजाउका लागि भने यो मोटरेबल पुलनजिकै झोलुंगे पुल छ । नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक ल्याइएको छ, तर उक्त सडक प्रयोगमा छैन । किनकि, सडक र पुलको बीचमा जंगल पर्छ । जरेवरतर्फ निर्माणाधीन मोटरेबल पुलको डेढ किलोमिटर दूरीमा बाह्रकिलो बारपाक सडक छ । नारेश्वरतर्फबाट ल्याइएको सडकलाई मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बाह्रकिलो बारपाक सडकसँग जोड्ने बताइएको छ । पुलबाट जरेवरतर्फ भने सडक छैन, स्थानीयको खेत छ ।

जरेवरका सीताराम सुनारले पुल जोड्ने सडक कताबाट निर्माण हुन्छ भन्ने विषयमा आफूहरूलाई कसैले जानकारी नदिएको बताए । भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौंदीमाथि पुल निर्माण गरिएको बताए ।

उनका अनुसार निर्माण कम्पनी एचटीसी, गणेशकुण्ड, आईएस निर्माण सेवाले जोइन्ट भेन्चरमा २०७७ जेठ २ मा सम्झौता गरेर पुलको काम थालेको थियो । सम्झौताअनुसार म्याद गत जेठमै सकिएको छ तर म्याद थपपछि आगामी पुससम्ममा पुल निर्माण सक्ने लक्ष्य राखिएको छ । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा वैकल्पिक बाटाका रूपमा जरेवर फाँटबाट सवारी सञ्चालन गरिएको थियो । सोही सडकसँग पुल जोड्ने योजना पनि भौतिक पूर्वाधार कार्यालयको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Leave a Reply