म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवतजावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिलर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावियन पर्खाल बगाएको छ । पुलको मालिकातर्फको पिलरको जगभन्दा गहिरो भएर खोला बग्न थालेको छ ।

मालिकातर्फको पहुँचमार्ग साँघुरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलमा आवतजावत बन्द गरिएको बताउनुभयो । पुलका बारेमा थप अध्ययन गर्न मन्त्रालयबाट विज्ञ टोली बोलाएको अधिकारीले बताउनुभयो ।

पुलमा आवतजावत बन्द गरिँदा मालिका र धवलागिरि गाउँपालिका सिधा यातायात सम्पर्क विच्छेद भएको छ । पुल संरचनाका लागि मालिका गाउँपालिकाले डोजर परिचालन गरेर नदी कटान नियन्त्रणको काम थालेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।बेनी–दरवाङ मङगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।

पूर्वाधार विकास कार्यालयले २०७६ सालमा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजारको लागतमा २२ मिटर लामो पुल निर्माण गरेको होे । पुल तल दुखुखोलाको बाढीले मङ्गला गाउँपालिका–२ सहश्रधाराको बस्तीतर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् । बेनी दरवाङ सडकको फापरखेत घुमाउनेभिर र बाङ्गापहिरोको पहिरो पन्छाएर सो क्षेत्रमा यातायात सञ्चालन गरिएको छ ।

Leave a Reply