साउने झरीले वारिपारिको खोलानाला र झरनाहरु सुसाइरहेका छन् । यतिबेला डाँडाकाँडा पनि निकै हरियाली देखिएकाे छ। वर्षायामको समय गर्मीको पनि उत्तिकै महसुस भइरहन्छ । उतिखेरै वर्षा हुन्छ, अनि रोकिन्छ र कुहिरो उठ्छ ।

छिनछिनमा बदलिरहने आज भोलिको मौसमले एकैछिनमा अनेक रुप फेर्छ । पानी पर्छ, सफा हुन्छ र घाम लाग्छ । यो वर्षायाममा हुने मौसमको विशेषता हो । खोलाको किनारबाट उडेको कुहिरोले डाँडाकाँडा र पहाडलाई ढपक्कै ढाकिदिन्छ । पहाड, वनजङ्गल र मानव बस्तीसँग लुकामारी खेल्ने कुहिरो आफ्नै गतिमा दौडिरहन्छ ।

कुहिरोसँगै लुकामारी खेल्ने म्याग्दीको पर्यटकीयस्थल केभहिल र गाजने गाउँको पनि आफ्नो छुट्टै महत्त्व र विशेषता छ । बेनी नगरपालिका–५, पुलाचौरको जगन्नाथधाममा पर्ने गाजने गाउँ समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा पर्दछ । गाउँदेखि केही माथि रहेको पर्यटकीयस्थल केभहिलको उचाइ भने समुद्री सतहबाट २ हजार २ सय मिटर छ । केभहिल अहिले पर्यटकीय गन्तव्य बन्दै गएकाे छ ।

मौसमअनुसार फरकफरक दृश्यहरु क्यामेरामा कैद गर्न पाइने केभहिलको बारेमा शब्दमा बयान गर्दा कमै होला । असोजदेखि मंसिरसम्म हिमालसँगै रमाउन र फोटो खिच्न पाइने केभहिलमा पुस–माघमा हिउँ खेल्न र फागुन–चैतमा लालीगुराँससित रमाउन सकिन्छ । वर्षातकाे समयमा कुहिरोले लुकामारी खेलिरहने केभहिल र गाजने गाउँको सुन्दरतामा पनि कमी छैन । हरेक मौसममा केभहिल क्षेत्रमा पुगेपछि धित मरुन्जेल फोटो, सेल्फी र भिडियो खिच्न पाइन्छ । केभहिलमा पुगेर रमाउन पाउँदा समय गएको पत्तो नै हुँदैन ।

केभहिलदेखि माथि २० मिनेटको दूरीमा पर्ने डढेकोत दरबार जाने पदमार्ग भएर उकाली–ओराली गर्न पाउँदा कम त मज्जा आउँदैन । दायाँबायाँ म्याग्दीखोला, राहुघाट र कालीगण्डकी नदीको बहाव तथा ग्रामीण सौन्दर्यको आकर्षक दृश्य अवलोकन गर्दै तलमाथि गर्न पाउँदा जतिसुकै कुहिरोले ढाकेको भए पनि मतलब हुँदैन । मन त्यसै फुरुङ्गै हुन्छ । वर्षायाममा केभहिल र डढेकोतमा कुहिरोले त्यहाँ पुग्ने पर्यटकलाई खुब जिस्काइरहन्छ । त्यहाँ पुगेर कुहिरोसँगै जिस्किँदै लुकामारी खेल्न पाइन्छ ।

केभहिल अर्थात गुफाको डाँडाको सम्बन्ध पर्यटन र अध्यात्मसँग जोडिएको छ । परापूर्वकालमा ऋषि, मुनिहरु आएर तपस्या गरेको किंवदन्ती रहेकाले यसको नाम गुफाको डाँडा भएको जगन्नाथ आधारभूत विद्यालय गाजनेका प्रधानाध्यापक निलकण्ठ शर्माले बताउनुभयो । यहाँबाट चारैतिर हेर्न पाइने र हिमालको अगाडि पर्ने भएकाले तपस्या गरेको ठाउँलाई अहिले केभहिल भन्न थालिएको हो । गाजने गाउँ र ऐतिहासिक महत्त्वको जगन्नाथ मन्दिरभन्दा केही माथि रहेको केभहिलमा पछिल्लो पटक स्वदेशी र विदेशी पर्यटकहरु पुग्ने गर्दछन् ।

स्थानीयको पहलमा पछिल्लो समय बेनी नगरपालिका र पुलाचौर वडा कार्यालयको सहयोगबाट केभहिलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जगन्नाथ भ्यु–टावर निर्माणाधीन अवस्थामा रहेको छ । केभहिलसम्म पुग्नका लागि सडकको पहुँच विस्तार गरिएको छ । केभहिलमा भ्यु–टावरसँगै बस्नका लागि प्रतिक्षालय निर्माण गर्नुका साथै वरिपरि घेराबार निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । धार्मिकस्थल तथा प्रसिद्ध जगन्नाथ मन्दिर, पर्यटकीयस्थल केभहिल र ऐतिहासिक डढेकोत राजदरबारको पर्यटन प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माणसहित प्रचारप्रसारलाई जोड दिइएको स्थानीयवासी बताउँछन् ।

केभहिलभन्दा केही माथि समुद्री सतहदेखि २ हजार ४ सय मिटरको उचाइमा ऐतिहासिक डढेकोत राजदरबार रहेको ठाउँ पर्दछ । नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यका पालामा मल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिने यस ठाउँमा अहिले ऐतिहासिक पर्वत राज्यको दरबार भग्नावशेषको रुपमा रहेको छ । तत्कालीन दरबार रहेको ठाउँ वरपर राजाको इनार, दरबारका कोठाहरु अहिले भग्नावशेषका रुपमा रहेका छन् । पछिल्लोपटक केभहिलदेखि डढेकोत दरबारसम्म पुग्नका लागि पर्यटन पदमार्ग पनि निर्माण थालिएको छ । पछिल्लो दुईवर्ष बेनी नगरपालिकामार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको सहयोगमा पर्यटकीयस्थल केभहिलबाट डढेकोतसम्म पदमार्ग बनाइएको हो ।

गाजने गाउँको बीच भाग हलहलेचौरमा भगवान् जगन्नाथको मन्दिर रहेको छ । मन्दिरबाट १० मिनेटको पैदलयात्रामा केभहिल पर्दछ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याएर मन्दिरको स्थापना गरेको किंवदन्ती पाइन्छ ।

पर्यटकीयस्थल केभहिल र डढेकोतको डिलबाट मौसम खुलेको समयमा चारैतिरको मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । यहाँबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, मानापाथी, गणेश, गूर्जा लगायतका दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । म्याग्दीको बेनी नगरपालिकासहित ६ वटै पालिकाहरु देखिने केभहिलबाट म्याग्दी जिल्लाको साविकका ४१ मध्ये ३६ वटा गाविसहरु प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।

केभहिल पुग्न म्याग्दी सदरमुकाम बेनीदेखि गाजने गाउँका लागि जीप पाइन्छ । जीपबाट ४५ मिनेटमा पुगिने गाजनेमा जगन्नाथको दर्शनपछि केभहिल गएर रमाउन सकिन्छ । झण्डै ४ घण्टाको पैदलयात्रामा गाजने पुग्न सकिन्छ भने पदयात्रा गर्न रुचनाउनेहरुका लागि बेनी–गुफा–पुलहाश्रम–ढोल्ठान हुँदै जगन्नाथ र केभहिलमा पुगिन्छ । यस रुटमा धौलागिरि बेसक्याम्प जाने जिल्ला सदरमुकाम बेनी र पर्यटकीयस्थल टोड्केबाट पदमार्ग निर्माण थालिएको छ ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर क्षेत्रभित्र पर्ने पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुमा भौतिक पूर्वाधारहरुको विस्तार गरी पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले बेनीको लभ्लीहिल हुँदै पुलस्त्य पुलहाश्रम, जगन्नाथ र केभहिल जाने केबुलकार निर्माण गर्नका लागि आवश्यक तयारी थालिएको जानकारी दिनुभयो।

Leave a Reply