आत्महत्या गर्ने सोच आइरहेका व्यक्ति चिन्न सकिन्छ र उनीहरूलाई त्यो भयावह घटनावाट बचाउन सकिन्छ भन्ने विषय धेरैलाई थाहा छैन। यसकै कारण धेरैले अकालमै जीवन गुमाउनु परेको छ। तर मनोचिकित्सक तथा विज्ञहरूले कुनै पनि कारणले आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई बचाउन सकिने बताएका छन्।

आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने विज्ञहरूको सुझाव छ। ‘हाम्रो समाजमा आत्महत्या गर्न खोज्ने व्यक्ति जसरी पनि गरेरै छोड्छन्, आत्महत्याको कुरा गर्ने व्यक्तिले त्यसो गर्दैन, आत्महत्या गर्ने व्यक्तिको कुनै संकेत हुँदैन भन्ने जस्ता भ्रमको कारण धेरैलाई बचाउन सकिँदैन,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नसर्ने रोग तथा मानसिक रोग शाखाका प्रमुख डा. फणिन्द्र बरालले बताए।

आत्महत्या गर्न खोजेको व्यक्तिले आफन्त तथा साथीहरूसंग निराशावादी कुरा गर्ने,आत्महत्याको बारेमा कुनै कुरा गर्ने, मर्न मन छ जस्ता कुरा गर्न थालेका हुन्छन्। यी र यस्ता कुरा गरिरकेको व्यक्तिको सोच क्षणिक रूपमा आउने र त्यो बेलामा नजिक रहेका आफन्तले उनीहरको कुरामा गम्भीर भई सुन्ने र सोहीअनुसार व्यवहार गरेमा उनीहरूलाई रोक्न सकिन्छ।

चिकित्सकका अनुसार पहिला आत्महत्याको प्रयास गरेका व्यक्तिहरू, उदासीनताको रोग भएका, लागूपदार्थ सेवन गरेका दुर्व्यसनीहरू, गम्भीर भावानात्मक कठिनाइ भएका व्यक्तिहरू जसले नजिकको आफन्त गुमाएको, सम्बन्ध विच्छेद गरेको, दीर्घकालीन रोगबाट ग्रसित, युद्ध, हिंसामा, सामाजिक बहिस्कारको अनुभव गरेक, निराशा महसुस गर्ने, एक्कासि धेरै दुःखी हुने र धेरै खुसी हुने, आफैंलाई हानि पुर्‍याउने व्यवहार गर्ने, बिषादी, हातहतियार, परिवार तथा इष्टमित्रलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने, आफ्नो अन्तिम इच्छा लेख्ने, आत्महत्या गर्नुपूर्व आफ्नो व्यवहार मिलाउँदै जाने, लागूपदार्थको अत्यधिक सेवन गर्ने जस्ता लक्षण आत्महत्या गर्ने व्यक्तिका पहिचानका संकेतहरू हुन्।

चिकित्सकका अनुसार यस्तो बेलामा उनीहरूलाई सहानुभूति दिने, मद्दत गर्ने, स्थितिलाई गम्भीर रूपमा लिने र जोखिम आँकलन गर्ने, आत्महत्या,अन्य उपाय खोज्न सकिन्छ। यस्ता व्यक्तिलाई आत्महत्याको बारेमा सोध्ने, आत्महत्या गर्न मद्दत गर्ने साधन डोरी, खुकुरी, बिषादी पदार्थ नजिक छन् भने तिनलाई हटाउने, उनको बारेमा परिवारलाई जानकारी दिने, धेरै जोखिम छ भने कहिल्यै एक्लै ननोड्ने जस्ता उपाय अपनाउन सकिन्छ।

कुनै न कुनै मनोसामाजिक तथा कडा मानसिक रोगको कारण व्यक्तिहरूमा आत्महत्याको सोच आउने हुनाले तत्कालै मनोचिकित्सकको सम्पर्कमा पुर्‍याउन सकिन्छ। जोखिम समयमा उद्धार गरेर यस्ता व्यक्तिलाई आवश्यक उपचार, परामर्श, सहानुभूति पाएमा उनीहरूको मनोसामाजिक तथा अन्य रोगहरू निको भएमा उनीहरूमा पुन आत्महत्याको सोंच नआउने डा. बराल बताउँछन्। योबाहेक जैविक, सामाजिक,आर्थिक र कडा खालको मानसिक रोगको कारण मानिसले आत्महत्या गर्ने गरेको चिकित्सक बताउँछन्।

नेपालमा गत वर्ष ६ हजार ८ सय ३० आत्महत्या

नेपालमा आर्थिक वर्ष ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याकंमा छ। यो संख्या अघिल्लो वर्षको भन्दा अर्थात् २०७७/०७८ मा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका थिए। यो हिसाबले गत वर्ष ४.३ प्रतिशतले कम देखिन्छ। तथ्यांकअनुसार नेपालमा दैनिक १९ देखि २० जनाले आत्महत्या गर्छन्।

नेपाल आत्महत्या गर्ने देशमध्ये १५ औं स्थानमा पर्छ। १५ देखि १९ वर्षभित्रमा आत्महत्या गर्नेको संख्याको आधारमा चौथोमा पर्छ। त्यसैगरी प्रजनन उमेरका महिलामा मृत्युको प्रमुख कारण आत्महत्या भएको पाइन्छ। १५ देखि ३५ वर्षभित्रका वयष्क र ७५ वर्ष माथिका वृद्धहरू, सम्बन्ध बिच्छेद भएकाहरू आत्महत्या गर्ने बढी संख्यामा छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्छन्। राष्ट्रिय मानिसक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिहरूमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ।

नेपालमा भूकम्प, कोभिड १९ र युद्धपछि आत्महत्या गर्नेको संख्या बढेको नेपाल प्रहरीको तथ्यांकले औंल्याएको छ। नेपालमा दस वर्षको अवधिमा ५३ हजार २ सय ९८ जनाले आत्महत्या गरेका छन्। नेपालमा हरेक दिन १९ देखि २० जनाले आत्महत्याको कारण मृत्यु हुने गरेको छ।

नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्य अनुसार सन् २०१५ देखि २०३० सम्मका प्रतिएक लाखमा आत्महत्या गर्ने दरलाई १६.५ बाट घटाएर ४.७ मा ल्याउने भनिए पनि हालसम्म आत्महत्याको दर २३.४ प्रतिलाख रहेकोले दिगो विकास लक्ष्यमा चुनौतीपूर्ण रहेको विभागले जनाएको छ।

आत्महत्या जटिल समस्या भएकोले एकल प्रयासले सम्भव नभएकोले सबै क्षेत्रहरूको सहकार्यको आवश्यकता रहेको विभागले जनाएको छ। आत्महत्या रोक्नेका लागि व्यक्तिगतदेखि सामुहिक योगदानको आवश्यकता रहेको छ। सरकारले आत्महत्या रोक्नको लागि ७ सय ५३ वटै स्थानीय तहमा मानसिक स्वास्थ्य केन्द्रमा सूचना सम्पे्रषणको गर्ने पहल गरेको, ४४ वटा बढी जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम पुगिसकेको जनाएको छ। यीलगायत अन्य कार्यक्रम सञ्चालन भइरहेका छन्।

आत्महत्याको सोच आए ११६६ मा फोन गर्नु 

नेपामला आत्महत्याको दरमा कमी आउन नसकेपछि सरकारले आत्महत्याको प्रयास गर्न खोजेका व्यक्तिलाई तत्काल उद्दार गर्नको लागि मानसिक अस्पतालमा चौविसै घण्टा संचालनमा हुने गरी ११६६ हटलाइन फोन नम्वर उपलब्ध गराएको छ। यो नम्वरमा विरामी स्वयंले फोन गर्न नसकेमा आफन्तले फोन गरेर सेवा तथा परामर्श लिन सकिने व्यवस्था गरिएको छ। यो नम्बरवाट आवश्यक मनोपरामर्शदाता, तथा मानसिक चिकित्सकसम्म पुग्ने सेवाहरू उपलब्ध हुने व्यवस्था छ। nagariknews.com

Leave a Reply