पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको आयोजनामा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मुनामा हिँजो (शनिवार) मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसम्बन्धी गोष्ठी गरिएको हो ।

पालिकाका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित कार्यक्रमका प्रतिनिधिहरुको उपस्थितिमा गोष्ठीको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गोष्ठीको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सुआहारा कार्यक्रमलाई आगामी दिनमा गाउँपालिकामार्फत निरन्तरता दिइने बताउनुभयो । उहाँले गाउँपालिकामा ‘उपाध्यक्षसँग हजार दिनका आमा’, ‘अध्यक्षसँग दिर्घरोगी’ भन्ने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सोही गोष्ठीमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले स्वास्थ्य र पोषणको क्षेत्रमा आफूले स्वास्थ्य संयोजकमार्फत आवश्यक कार्यक्रम सञ्चालन गर्न छलफल चलाएको बताउनुभयो । उहाँले सुनौलो हजार दिनका महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्था सुधार्न पालिकामार्फत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । गोष्ठीमा गाउँपालिकाको शिक्षा शाखा प्रमुख खेमराज सुवेदीले पालिकामार्फत शैक्षिक तथा पोषणको क्षेत्रमा गरिएका कार्यहरुको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त गोष्ठीमा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले संस्थाको प्रस्तुतीकरण गर्नुभएको थियो भने सुआहारा कार्यक्रमको फिल्ड संयोजक बालकुमारी पुनले मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सुनौलो हजार दिनको महिला सिर्जना शेरपुन्जालाई जीवनको महत्वपूर्ण क्षण (कि लाइफ इभेन्ट)अन्तर्गत पोषिलो खानेकुरा प्रदान गरीे गोष्ठीको उद्घाटन गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेम पुनको अध्यक्षता, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश, कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालन र धवलागिरि–१, गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले मन्तव्य व्यक्त गर्नुभएको गोष्ठीमा स्थानीय स्रोतव्यक्ति अन्जना सुवेदीले अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply