नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना भएको बेला आफूमातहतका निकायलाई अनुसन्धान गर्न खुला छाडिदिए पनि अनुसन्धान हुनेमा शंका उत्पन्न भएको छ।

उनले आफैंमाथि अनुसन्धान गर्न प्रहरीलाई छुट दिएको भन्दै सञ्चारमाध्यममा भने पनि आफू पदमा रहँदा त्यसको छानबिनमा पर्ने असर र प्रभावबारे भने उनी मौन छन्। त्यति मात्र होइन, सञ्चारमाध्यमका अगाडि सार्वजनिक खपतका निम्ति नवनियुक्त उपप्रधानमन्त्री तथा गृृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्भित्रै आफू प्रतिपक्षी बन्ने घोषणा गरे। मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीको प्रस्तावमा असहमति गरे त्यहीँबाट बाहिरिनुपर्ने नैतिक दायित्वलाई पनि बिर्सेका छन्।

उनले मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा प्रधानमन्त्री वा अन्य मन्त्रीहरूले ल्याएको प्रस्तावलाई जस्ताको तस्तै समर्थन नगरी गुण र दोषका आधारमा समर्थन गर्ने जनाउँदै प्रतिपक्षीको भूमिकामा रहने बताएका हुन्। उनले रास्वपबाट सरकारमा गएका सबै मन्त्रीले मन्त्रिपरिषद्मा प्रतिपक्षीको भूमिका निभाउने बताएका थिए।

उनले संसदीय व्यवस्थाअनुसार आफू चल्ने बताए पनि मन्त्रिपरिषद्मा गरिने सबै निर्णय प्रधानमन्त्रीको एकाधिकार हुन्छ भन्ने विषयलाई बिर्सेर सो घोषणा गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा उनले धेरै काम गर्न सकिन्छ भनेर यहाँ आएको बताए। उनले सानो भूमिकाले पनि काम गर्न सकिने बताउँदै गृह मन्त्रालयमा आउँदा ठुलै जिम्मेवारीमा आएको जनाए। ‘गृह मन्त्रालयबाट धेरै काम गर्न सकिन्छ भनेर मन्त्रालय सम्हाल्न आएको हो, जनताको सेवामा धेरैभन्दा धेरै काम गर्नेछु,’ गृहमन्त्री लामिछानेले भने।  source:- nagariknews.com

 

Leave a Reply