गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै साँझ सपथ लिने मुख्यमन्त्री कार्यालयले बताएको छ।

मुख्यमन्त्रीमा नियुक्त अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन्। पूर्व गृह तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उनी नेकपा एमालेका संगठन विभाग प्रमुख पनि हुन्।

यसअघि अधिकारीले आजै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार प्रदेश प्रमुख गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

प्रदेश प्रमुख गुरुङले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयसीमा सोमबार अपराह्न ४ बजेको दिएका थिए। उनले सो समय सकिन करीब डेढ घण्टा बाँकी छँदा दाबी पेश गरे। एमाले, माओवादी, राप्रपा र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दीपक मनाङे)को समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमत छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन्। ठूलो दल भएपनि कांग्रेस प्रतिपक्षी दल बनेको छ। नागरिक

Leave a Reply