राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते विभागले मावलीको थरबाट जन्मदर्ता गर्न परिपत्र गरेको थियो । त्यो परिपत्रको व्यापक आलोचना भएको थियो ।

आज जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ । विभागले ‘मावली थर’ को सट्टा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ ।

यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।

Leave a Reply