हृदयघातका कारण एमाले केन्द्रीय सदस्य कृष्णबहादुर थापाको बिहीबार (फागुन २८) निधन भएको छ ।
बिहीबार उनी कास्की एमालेको समीक्षा बैठकमा थिए । टिकट वितरणप्रति असन्तुष्ट राखेका उनी कास्कीका तीनवटै निर्वाचन क्षेत्रका उमेदवार जिताउने अभियानका कमान्डर थिए । भलै, एमालेले चुनाव जित्न सकेन ।
उनै हक्की कमान्डरलाई भने एमालेले गुमाएको छ ।
चुनावी समीक्षा बैठकमा आफ्ना भनाइ राखेर कुर्सीमा बस्ने बित्तिकै उनी ढलेका थिए । त्यसपछि उनी उठ्न सकेनन् । मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा एक्कासि ढलेका उनलाई सँगै रहेका नेता टीकाराम पंगेनीलगायतका नेताले तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए ।
अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।
०५४ मा पोखराको मेयर पदमा निर्वाचित थापालाई एमालेले ०७९ मा पनि उमेदवार बनाएको थियो । त्यतिबेला प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर उमेदवार बनेका थापा विजयी हुन सकेनन् ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कास्की–२ टिकट सुरुमा दिँदा आलोचना भएपछि रश्मिलाई दिइएको थियो । त्यसपछि उनले आफूमाथि ठूलो षड्यन्त्र भएको गुनासो गरेका थिए ।
थापाको शव अस्पतालमै राखिएको छ । अस्पताल परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ता सहित पोखराका उच्चपदस्थ र उनका समर्थक तथा शुभेच्छुकहरू भेला भएका छन् ।














