धु्रबसागर शर्मा
म्याग्दी उद्योग वाणिज्य संघको असोज ३० र कात्तिक १ गते हुने २१ औ साधारणसभा तथा ९ औ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनाबी रस्साकस्सी सुरु भएको छ ।
राजनीतिक आस्था र प्रभावदेखि टाढा रहेर विशुद्ध व्यवसायिक हित र जिल्लाको विकासका लागि काम गर्नुपर्ने उद्योग वाणिज्य संघमा राजनीति हाबी भएपछि व्यवसायीहरुबीच चुनावी प्रतिष्पर्धा हुने पक्कापक्की भएको हो ।नेकपा एमाले समर्थित उद्योगी व्यवसायीहरुको नेतृत्वमा एनेकपा माओवादी,नेकपा–माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्योगी व्यवसायीहरु संयुक्त प्यानल वनाएर नेपाली काँग्रेस समर्थित उद्योगी व्यवसायीहरुसंग चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् ।
तर नेपाली काँग्रेस समर्थित उद्योगी व्यवसायीहरुले भने उवासंघमा चरम राजनीति भएको र आफूहरुलाई वेवास्ता गरी राजनीति गठवन्धनको आधारमा नेतृत्व कव्जा गर्न खोजिएको भन्दै चुनाव वहिष्कार गर्ने संकेत दिएको छ । ‘म्याग्दी उवासंघलाई राजनीतिक भागवण्डाको अखडा वनाउन खोजिदैछ,यो हामीलाई स्वीकार छैन, हामीले यस्तो अस्वस्थ चुनावी प्रतिष्पर्धामा भाग नलिने भएका छैं’ म्याग्दी उवासंघका पूर्व प्रथम उपाध्यक्ष तथा नेपाली काँग्रेस समर्थित उद्योगी व्यवसायी विजयकुमार श्रेष्ठले वताउनुभयो ।
स्थापनाकालदेखि सातौं अधिवेशनसम्म सहमतिका साथ नेतृत्व चयन हुने गरेको म्याग्दी उद्योग वाणिज्य संघमा आठौं अधिवेशनदेखि नेतृत्वका लागि राजनीतिक आस्था र प्रभावको श्रृङ्खला सुरु भएको हो ।यसैबीच नेकपा एमाले,एनेकपा माओवादी,नेकपा–माओवादी र राप्रपा समर्थित उद्योगी व्यवसायीहरुले नेकपा एमाले समर्थित व्यवसायी जिवनकुमार विश्वकर्माको नेतृत्वमा संयुक्त प्यानल वनाएर उमेद्वारी घोषणा गरेका छन् ।
उक्त प्यानल मार्फत सदस्यहरुमा उत्तम कर्माचार्य, बेलबहादुर कटुवाल, राजेश शाक्य, लिला गौतम, ठाकुर शर्मा, राजकुमार श्रेष्ठ, बाबुराम आचार्य, रामकृष्ण बराईली, चन्द्रप्रकाश बराईली, नारायण जिसी, बाबुराम आचार्य, पानप्रसाद तिमील्सीना, सुवर्ण रिजाल, लक्ष्मण शर्मा, टेकप्रसाद सापकोटा, किसान बिक र पूर्णबहादुर पुनले उमेद्वार रहेका छन् ।
१९ सदस्यीय निर्वाचित कार्यसमिति मध्य २ जनाको नाम पछि घोषणा गरीने अध्यक्ष पदका उमेद्वार विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्मा म्याग्दी उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुहुन्छ । उमेद्वारी घोषणा कार्यक्रममा सम्पूर्ण ब्यापारीको संरक्षण एवं हितका लागि क्षमत्ता अभिवृद्धी र कर शिक्षालाई प्राथमिकता दिने विश्वकर्माले बताउनुभयो ।