मोना सम्मेलनले म्याग्दी घोषणापत्र जारी गर्नेछ

मोना सम्मेलनका बारेमा मोना म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसंग पत्रकार धु्रबसागर शर्माले लिएको अन्तर्वार्ता

आजदेखि सदरमुकाम बेनीबजारमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना)को विश्व सम्मेलन तथा पहिलो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । सचिवको हैसियतले यो सम्मेलनको सफलताका लागि जिल्लावासीहरुबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
तपाईंले भने जस्तै मोनाको यो प्रथम विश्व सम्मेलनलाई सम्पूर्ण म्याग्देलीले महत्वका साथ हेरेका छन् । यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न सम्मेलन आयोजना स्थल सदरमुकाम बेनीबजारमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई हार्दिकताका साथ भव्य स्वागत गर्ने, बजार सरसफाई गर्ने, घरघरमा जलघडा राख्ने लगायत उद्घाटन सत्रलाई भव्य बनाउन आयोजित सांस्कृतिक झाँकी ¥यालीमा आ–आफ्नो पहिचाने झल्किने पोशा सहित सहभागी हुनका लागि मोना म्याग्दीले हार्दिक आव्हन गरेको छ ।

10509495_755266467873685_7694433188729589356_nसम्मेलनमा भाग लिनका लागि कुनकुन देशबाट कतिजना प्रतिनिधि र पर्यवेक्षकहरु आउनुभएको छ ?
नाम दर्ता हुने क्रममा जारी रहेकाले ठ्याक्कै यति नै भन्न नसकिए पनि १३ देशका ७० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने सम्भावना छ ।

प्रवासी म्याग्देलीहरुबाट जिल्लाले गरेको अपेक्षा के हो ?
म्याग्देलीहरु प्रवासमा अध्ययन, रोजगारी र व्यवसायको सिलसिलामा जानेका गरेका छन् । उनीहरुले त्यहाँबाट धेरै थोरै रकम बचाएर घरखर्च लगायत आफ्नो जिल्ला र गाउँका विभिन्न सामाजिक क्षेत्रहरुमा पनि सहयोग गरिरहेको अवस्था छ। अहिलेसमम गरिएकोसहयोग कुनै खास योजना भन्दा पनि तत्कालको आवश्यकताको हिसाबले गरिएको हुँदा त्यति प्रभावकारी पनि नभएको हुनसक्छ । त्यसैले प्रवासी म्याग्देलीले आफ्नो अन्तर्राष्ट्रिय संस्थालाई विश्वव्यापी बनाउनुप¥यो, त्यसपछि ठोस योजना बनाएर आफ्नो पूँजीलाई सुरक्षित र उपयुक्त क्षेत्रमा लगानी गर्नुप¥यो भने च्यारिटीको क्षेत्रमा एकद्वार प्रणालीबाट जिल्लाको आवश्यकता पहिचान गरी सहयोग गर्नुप¥यो ।

यो सम्मेलनबाट कस्तो नेतृत्वको चयनहोस् भन्ने चाहनुभएको छ ?
यो प्रवासी म्याग्देलीको विशुद्ध स्वयंसेवी सामाजिक संस्था भएकाले संसारभर छरिएर रहेका र अनेक नाममा अखण्ड भएका म्याग्देलीलाई एउटै छाना मुनि गोलबद्ध गर्न सक्ने सामाजिक र विकासमुखी सोच भएका सक्षम व्यक्तिहरु नेतृत्वमा आउन् भन्ने मेरो चाहना छ ।

मोनाको विश्व सम्मेलन पछि चयन हुने नयाँ समितिले विशेष गरी जिल्लाका कुन कुन क्षेत्रहरुमा सहयोग गर्नु पर्ने आवश्यकता यहाँले देख्नुभएको छ ?
हामीले यो विश्व सम्मेलनमा विजनेश सेसनमा विभिन्न कार्यपत्रहरु पनि प्रस्तुत गर्दछौं । त्यसमा लगानीका हिसाबले जिल्लामा सम्भावना भएका जलविद्युत, पर्यटन, व्यवसायिक कृषि लगायत समग्र जिल्लाको सामाजिक तथा आर्थिक स्थितिको विश्लेषण हुनेछ । त्यसैले पूँजी भएका प्रवासी म्याग्देलीलाइ त्यसतर्फ लगानी गर्न प्रेरित गर्ने र च्यारिटीको क्षेत्रमा विशेष गरेर प्राकृतिक प्रकोपमा सहयोग, शिक्षा, स्वास्थ्य, खेलकुद आदि क्षेत्रमा योजना बनाएर एकद्वार प्रणालीबाट जानु उपयुक्त हुनेछ ।

मोना विशद्ध प्रवासी म्याग्देलीहरुको संस्था हो । यस संस्थामा हामी जिल्लामा रहेका व्यक्तिहरुको भूमिका चैं के हुन्छ ? समन्वयकारी मात्र हुन्छ वा निर्णायक पनि ?
हो, मोना प्रवासी म्याग्देलीकै संस्था हो । त्यसैले यसको सञ्चालन विधान अनुसार गठित मोनाको तत्तत् कमितिबाट हुन्छ । यो संस्थालाई नेपाल सरकारबाट आधिकारिकता दिलाउन शुरुमा जिल्लामा बसेका हामीहरुको केही भूमिका रह्यो । तर अब विधानले व्यवस्था गरे अनुसार संस्थाको कामलाई जिल्लामा प्रभावकारी बनाउन जिल्लाबासीको समन्वयकारी भूमिका मात्र रहन्छ ।
अन्त्यमा, म्मेलनको पूर्ण सफलता र उपलब्धीमूलक नतिजाको कामना गर्दै समय दिनुभएकोमा यहाँप्रति आभार व्यक्त गर्दछ ।
विश्व सम्मेलनको संघारमा मोनाका बारेमा केही धारणाहरु राख्ने अवसर दिनुभएकोमा तपाईंप्रति आभार व्यक्त गर्दछु ।
बेनी साप्ताहिक पत्रिका