टोड्केमा अवस्थित स्वर्गद्वारीको शाखा आश्रम संरक्षण गर्न महायज्ञ

उत्तरी म्याग्दीको पर्यटकीय एवं धार्मिक क्षेत्र टोड्केमा बिहीबारदेखि श्री शिवपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ।स्वर्गद्वारीको शाखा आश्रम रहेको टोड्केमा ‘सम्पूर्ण म्याग्दीवासीको चाहना, टोड्के धार्मिक एवं पर्यटकीयस्थलको स्थापना’ भन्ने मुल नारासहित महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको उद्घाटन गर्दै पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले टोड्केलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकी छिन् । उनले म्याग्दी जिल्ला भूगोलका हिसाबले विकट रहेपनि धार्मिक र पर्यटकीय सम्भावना बोकेकाले यसको दीगो विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

IMG_0344महायज्ञमा कलशयात्रा समेत गरिएको छ । उक्त महायज्ञमा कुहुँ, पूर्णगाउँ, डडुवा, झिँ, पात्लेखेत, वाखेतलगायतका गाविस र गाउँबाट श्रद्धालु भक्तजनको उपस्थिति रहेको छ । आगामी चैत ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित भीमनाथ पराजुलीले कथावाचन गर्ने आयोजकले जनाएको छ । टोड्केमा रहेको स्वर्गद्वारी आश्रमको विकास र स्तरोन्नति गरी धार्मिक पर्यटन वृद्धि गर्ने उद्देश्यले महायज्ञ लगाइएको हो ।

कार्यक्रम महायज्ञ आयोजक समितिका अध्यक्ष जमानबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष तोयानाथ आचार्यको स्वागत र सागर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच टोड्केमै आयोजना गरिएको दोस्रो टोड्के महोत्सवको तेस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा, स्थानीय कलाकारहरु अमित विश्वकर्मा र सज्जन बोहोरालगायतले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका छन् ।प्रताप बानियाँ