म्याग्दीको साहित्यमा उज्यालो बर्ष-२०७२

शिव सस्मित
कसैले पनि आफ्नो रुप आफैले देख्न सक्दैन । आफ्नो रुप सफा या फोहोरी कस्तो छ भन्ने बारेमा कि त अरुले भनिदिनुपर्छ कि ऐनाको प्रयोग गर्नुपर्दछ । अझ विश्वासयोग्य साधन त ऐना नै हो किनकि अरुले भनिदिने कुरामा आग्रह पूर्वाग्रह हुन सक्दछन् । कलुषित भावना बोकेका मानिसहरुले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो पनि भनिदिन सक्छन् । त्यसैले ऐना नै वास्तविक रुप देखाइदिने एक मात्र साधन हो । यो कुरा व्यक्तिविशेषमा मात्र लागु नभएर समाजमा पनि लागू हुन्छ ।

?????????????????????????????????????????????????????????
?????????????????????????????????????????????????????????
साहित्यलाई समाजको ऐना मानिन्छ । यो विश्वव्यापी मान्यता हो । साहित्यले समाजको यथार्थ चित्रण गर्ने भएकाले होला सायद यसलाई समाजको दर्पण भनिएको तर साहित्यले रुप देखाउने काम मात्र गर्दैन सही मार्गनिर्देशन पनि गर्दछ । त्यसैले समाजको लागि त साहित्य फगत ऐना होइन भन्न सकिन्छ । साहित्य त एक त्यस्तो साधन हो जसले भावनाको खेती गरी समाजलाई ‘चेतन’ नामको फल प्रदान गर्दछ । जुन फलको उपभोगबाट समाजले आपूmलाई जीवित राख्दछ । चेतनाशुन्य समाज मरेतुल्य हुने हुँदा चेतना छरेर साहित्यले त्यसलाई जीवित राख्ने काम गर्दछ भनिएको हो ।

ऐना आफैमा सफा र पारदर्शी भने हुनुपर्दछ । धमिलो ऐनाले राम्रो कुरालाई स्पष्ट रुपमा देखाउन सक्दैन । यसर्थ ऐनारुपी साहित्य पनि आफैमा सफा हुनु जरुरी छ । साहित्यलाई शुद्ध, सफा र पारदर्शी बनाउने काममा साहित्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसका साथसाथै साहित्यको उन्नयन र विकासमा साहित्यकर्मीहरुले आफ्ना साहित्यिक गतिविधिमार्फत् योगदान दिइरहेका पनि हुन्छन् ।

b 3म्याग्दी जिल्ला संस्कृति र साहित्यको धनी जिल्ला हो भन्दा अत्युक्ति नहोला । यहाँ सञ्चालन हुने हुने सांस्कृतिक तथा साहित्यिक क्रियाकलापहरुको इतिहास पल्टाउने हो भने यस कुराको पुष्टि हुन्छ । हुन त म्याग्दीमा अन्य सामाजिक विकासका कामहरु पनि थुप्रै भए होलान् । साहित्यको क्षेत्रमा पनि अघिल्ला वर्षहरुमा झैं २०७२ सालमा यहाँ थुप्रै गतिविधिहरु भएका छन् । तुलनात्मक रुपमा भन्ने हो भने त अघिल्ला वर्षहरुमा भन्दा साहित्यका क्षेत्रमा यहाँ धेरै र नौला कामहरु पनि भए । वैशाख १२ को विनाशकारी महाभूकम्पले निम्त्याएको त्रासमय वातावरणले पनि होला वा मुलुक संकटमा फसेको घडी भएर पनि होला वैशाखमा कुनै साहित्यिक गतिविधिहरु हुन सकेनन् । भने जेठ देखि यहाँका सक्रिय साहित्यकर्मी र साहित्यिक सङ्घसंस्थाहरुको आयोजनामा विभिन्न गतिविधिहरु सञ्चालन गरिए । ती गतिविधिहरुलाई निम्न अनुसार प्रस्तुत गरिएको छ ।

२०७२ जेठ

— जेठ २ गते ‘साहित्य विकासका लागि निरन्तर साधना गरौं’ भन्ने नाराका साथ म्याग्दी जिल्लामा स्थापना भएको सुवासना साहित्यिक सदनले मूर्धन्य साहित्यकार भूमि शेरचनको स्मृति दिवसको अवसर पारेर सुवासना साहित्यिक पत्रिका (मुक्तक विशेषाङ्क) को विमोचन ग¥यो । पोखरा तथा धौलागिरि अञ्चलका अन्य जिल्लाका मुक्तककारहरुको गर्विलो उपस्थिति भएको उक्त कार्यक्रममा मुक्तक लगायत विविध रचना वाचनसमेत गरिएको थियो । भने मुक्तक विशेषाङ्कका रुपमा प्रकाशित सुवासना साहित्यिक पत्रिकाको समिक्षा समेत गरिएको थियो ।
DSC01407
— जेठ ५ गते म्याग्दी जिल्लाको जेठो साहित्यिक संस्था म्याग्दी साहित्यिक समाजको आयोजनामा म्याग्दीका अग्रज साहित्यकार अजयमिलन श्रेष्ठको ‘वायुपङ्खी घोडा’ व्यङ्ग्य निबन्ध सङ्ग्रहको विमोचन भयो । हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा एउटा कृति प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिंदै स्रष्टा श्रेष्ठले उक्त कृति प्रकाशन गर्नुभएको हो ।

— जेठ १७ गते म्याग्दी साहित्यिक समाजकै आयोजनामा अग्रज साहित्यकार एवम् म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको ‘यात्राका अनुभूति’ नियात्रा विमोचन भयो । आफ्नो जन्मदिनको अवसर पारेर वर्षेनी एक एक वटा कृति प्रकाशन गर्दै आउनुभएका शर्माले यस वर्ष पनि उक्त कामको निरन्तरता दिंदै नियात्रा प्रकाशन गर्नुभएको हो ।

— जेठ २९ गते ‘अग्रजको सम्मान, अनुजको प्रोत्साहन भाषा साहित्य समाज सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ म्याग्दीमा स्थापित साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारको आयोजनामा एक कार्यक्रम गरी क्रियाशील महिला साहित्यकार हिरा शर्मा ‘सङ्घर्ष’ को ‘उसको डायरी’ उपन्यास विमोचन भयो । म्याग्दीका थुप्रै स्रष्टा एवम् साहित्यप्रेमीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विविध रचना वाचन र कृतिको समीक्षा समेत भएको थियो ।

२०७२ असार

— असार ४ गते सुवासना साहित्यिक सदनको आयोजना एवम् शिला क्यासेट सेन्टरको प्रस्तुतीमा सञ्चारकर्मी विदुर बराइलीको आधुनिक गिती एल्बम ‘त्याग’ मा समावेश ‘मलाई पराइ नठान्नु है’ गीतको लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

— असार ५ गते सुवासना साहित्यिक सदनकै आयोजनामा हाम्रो मुक्तक यात्राको पहिलो संस्करण अभियानको रुपमा सुरु भयो । यस यात्रामा म्याग्दी र पर्वतका मुक्तककारहरुको प्रत्यक्ष उपस्थितिमा मुक्तकहरु वाचन गरिएको थियो । बेनीबजारको गणतान्त्रिक चोकमा सञ्चालन गरिएको उक्त कार्यक्रममा मुक्तक सुन्नका लागि सयको हाराहारीमा स्थानीयवासी र अन्य यात्रुहरु सहभागी भएका थिए । (अवगत रहोस् वर्षभरि सदनले मुक्तक यात्राको ६ वटा संस्करण प्रस्तुत गरिसकेको छ ।)
b_5
— असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसर पारी म्याग्दीमा क्रियाशील चारवटा साहित्यिक संस्थाहरु (म्याग्दी साहित्यिक समाज, पौलस्त्य साहित्यिक समाज, सुवासना साहित्यिक सदन र म्याग्दी साहित्य सञ्चार) को संयुक्त आयोजनामा धौलागिरि अञ्चलस्तरीय कविता प्रतियोगिता सम्पन्न गरियो । धौलागिरि अञ्चलका धेरैजसो साहित्यकारहरुको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रममा युवा सर्जक सुसन विसर्जनको ‘मनको कोलाजमा’ सेदोका सङ्ग्रह विमोचन हुनुका साथै कृतिको समिक्षा, आदिकवि भानुभक्तको चर्चा, एवम् स्रष्टाहरुका अप्रतियोगी रचना वाचन समेत भएको थियो । नेपालको गजल साहित्यमा विद्यावारिधी गर्ने पहिलो व्यक्ति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को प्रमुख आतिथ्यताले कार्यक्रमको गरिमालाई अत्यन्तै उच्च राख्न सफल तुल्याएको थियो भने कार्यक्रमका आयोजकहरुले डा. परिश्रमीलाई खादा र प्रमाणपत्रद्वारा सम्मान पनि गरेका थिए ।

२०७२ साउन

— साउन १९ गते नेपालका चर्चित आख्यानकार, मदन पुरस्कार विजेता अमर न्यौपानेको म्याग्दी आगमन भयो । म्याग्दी साहित्य सञ्चारले आयोजना गरेको एक कार्यक्रमबीच न्यौपानेको पछिल्लो कृति करोडौं कस्तुरीको चर्चा परिचर्चा गरिएको थियो । स्रष्टा अमर न्यौपानेसँग साक्षात्कार हुन कार्यक्रमस्थल माउन्ट एभरेष्ट आवासीय उच्च माविको प्राङ्गणमा म्याग्दीका थुप्रै साहित्यकारहरुको जमघट भएको थियो ।

२०७२ भदौ

— भदौ १८ गते नेपालका ख्यातिप्राप्त गजलकार एवम् गजल विकासका अभियन्ता बुँद रानाको नेतृत्वमा कपिल लामिछाने, रुद्र ज्ञवाली, षडानन्द पौडेल, वनमाली निराकार लगायतको साहित्यकार टोली भैरहवादेखि म्याग्दीमा आएको थियो । यस अवसर पारी माउन्ट एभरेष्ट आवासीय उमाविको मुख्य प्रायोजन र म्याग्दी साहित्य सञ्चारको आयोजनामा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । यसै अवसर पारेर म्याग्दी जिल्लामा स्थापित संस्था ‘नन्दकला हरिलाल स्मृति पुरस्कार’ ले एसएलसी परीक्षा २०७१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी ओस्कार शर्मालाई पुरस्कृत समेत गरेको थियो ।

— भदौ २६ गते म्याग्दी साहित्य सञ्चारकै आयोजनामा ‘त्रितालमा गजल’ कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भयो । टिकट प्रणाली लागू गरिएको यस कार्यक्रममा गजल वाचनका लागि बागलुङका दिल श्रीस, रुपन्देहीका सुरज घिमिरे ‘दीपशिखा’ र म्याग्दीका दीपक विखर्ची गरी तीनजना गजलकारहरुलाई उपस्थित गराइएको थियो । गजलकारहरुको गजल सुन्न सयौंको संख्यामा गजलप्रेमी तथा साहित्यकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा अन्य गजलकारहरुले पनि गजल वाचन गरेका थिए ।

२०७२ कार्तिक
— कार्तिक २५ गते नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर सुवासना साहित्यिक सदनले एक कार्यक्रमको आयोजना गरी स्रष्टा शिव सस्मितको ‘बहाब’ गजल सङ्ग्रहको विमोचन ग¥यो । उक्त कृतिको प्रकाशक आफैं रहेको सदनले आयोजना गरेको उक्त कार्यक्रममा अर्का स्रष्टा सञ्जयकुमार श्रेष्ठको ‘सम्मान र ताली’ कथा सङ्ग्रहको समेत विमोचन भएको थियो । म्याग्दी र पर्वतका थुप्रै स्रष्टाहरुको उपस्थिति रहेको सो कार्यक्रममा कृतिको समिक्षा, महाकवि देवकोटाको चर्चा एवम् विविध रचना वाचन समेत गरिएको थियो ।

२०७२ मंसिर
— मंसिर ४ गते म्याग्दीको प्रतिष्ठित निजी विद्यालय माउन्ट एभरेष्ट आवासीय उच्च माविको मुख्य प्रायोजन एवम् म्याग्दी साहित्य सञ्चारको आयोजनामा नेपालका ख्यातिप्राप्त कवि एवम् गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा संकृतिविद् एवम् कवि तीर्थ श्रेष्ठ लगायत म्याग्दी, बागलुङ र पर्वतका साहित्यकारहरुको उल्लेख्य उपस्थिति थियो । त्यसैगरी म्याग्दी जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, शिक्षाकर्मी, विद्यार्थी लगायत अन्य साहित्यप्रेमी, सङ्गीतप्रेमी व्यक्तिहरुको पनि उपस्थिति थियो ।

२०७२ माघ
— माघ १ गते सुवासना साहित्यिक सदनको प्रकाशन तथा आयोजनामा एक कार्यक्रम सञ्चालन गरी म्याग्दीका गजलकार दर्पण रोकाको ‘सहरभित्रका रहरहरु’ गजल सङ्ग्रहको विमोचन भयो । यस कार्यक्रममा म्याग्दीका थुप्रै स्रष्टाहरुको उपस्थिति रहेको थियो भने विविध रचना वाचन र कृतिको समिक्षा गरिएको थियो ।

— माघको पहिलो साता बेनीमा सञ्चालन भएको मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद्को अवसरमा गलेश्वर मन्दिर परिसरमा एक शान्ति सन्देश मुलक साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रममा म्याग्दी लगायत अन्य जिल्लाबाट परिषद्का लागि आएका स्रष्टाहरुबाट विविध रचना वाचन गरिएको थियो ।
Gajal-4
२०७२ फागुन

— फागुन १५ गते सुवासना साहित्यक सदनकै आयोजनामा एक कार्यक्रम सञ्चालन गरी स्याङ्जाका स्रष्टा डोल ‘अभागी’ को हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘नेपाली टाइम्स’ को विमोचन गरिएको थियो । यस कार्यक्रममा पनि कृतिको समिक्षा लगायत स्रष्टाहरुबाट विविध रचना वाचन गरिएको थियो ।

— फागुन २२ गते भूपि स्मृति थाक पुस्तकालय कोवाङ, मुस्ताङको आयोजनामा धौलागिरि अञ्चलस्तरीय वनभोज कार्यक्रम सम्पन्न भयो । म्याग्दीको गलेश्वरमा सम्पन्न वनभोज कार्यक्रममा धौलागिरि अञ्चलका थुप्रै साहित्यकारहरुको जमघट भएको थियो । स्रष्टाहरुबाट रचना वाचन गरिएको यस कार्यक्रमले स्रष्टाहरुबीच आपसी सद्भाव र एकता रहेको सन्देश दिएको थियो ।
Upanas-Lokarpan
२०७२ चैत
— म्याग्दीका स्रष्टा शिव सस्मितको ‘धुमिल आकाश’ शैक्षिक उपन्यासलाई सप्त सारथि पब्लिकेसन प्रालि पोखराले बजारमा ल्याउने काम ग¥यो । पोखरामा एक कार्यक्रमको आयोजना गरी पब्लिकेसन प्रालिले संस्कृतिविद् एवम् कवि तीर्थ श्रेष्ठको हातबाट उक्त पुस्तकको लोकार्पाण गराएको थियो । म्याग्दी, पर्वत, कास्की र अन्य जिल्लाका साहित्यकार, शिक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा कृतिको समिक्षा समेत गरिएको थियो ।

यसरी हेर्दा २०७२ सालमा यहाँका क्रियाशील साहित्यिक सङ्घसंस्थाहरुको आयोजना र शैक्षिक संस्थाको समेत प्रायोजनमा वर्षभरि नै विविध साहित्यिक क्रियाकलापहरु सञ्चालन भएको देखिन्छ । त्यति मात्र होइन जिल्लामा सञ्चालित एफएम रेडियोहरुले साप्ताहिक÷पाक्षिक रुपमा विविध साहित्यिक कार्यक्रमहरुको सञ्चालन गरी साहित्यिक रचना वाचन गर्ने गराउने, विभिन्न साहित्यिक व्यक्तित्वहरुको अन्तरवार्ता लिने वा उनीहरुसँग साहित्यिक भलाकुसारी गर्ने कामलाई समेत २०७२ मा निरन्तरता दिए । त्यसैगरी यहाँका दैनिक र साप्ताहिक समाचारमूलक पत्रपत्रिकाहरुले पनि स्रष्टाका साहित्यिक रचनाहरुलाई स्थान दिई साहित्यको विकास, सम्बद्र्धन र स्रष्टाको सम्मान गर्ने काम गरे ।

bbत्यसैगरी म्याग्दी साहित्य सञ्चारद्वारा प्रकाशन आरम्भ गरिएको ‘बुलबुल’ द्वैमासिक साहित्यिक पत्रिकाको निरन्तरता सुवासना साहित्यिक सदनबाट हाम्रो मुक्तक यात्रा अभियानको निरन्तरता साथै अन्य स्रष्टाहरुका कृति प्रकाशन कार्यको थालनी, असोज महिनादेखि प्रकाशन आरम्भ भएको स्वर्गाश्रम प्रकाशन परिवार प्रकाशक र स्रष्टा तारामिलन छन्त्याल सम्पादक रहेको ‘स्वर्गाश्रम’ द्वैमासिक पत्रिकाको निरन्तरता, ख्यातिप्राप्त साहित्यकारहरुको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना र रचना वाचनको निरन्तरता आदि गतिविधिले २०७२ सालको म्याग्देली साहित्यिक फाँटलाई अत्यन्त हरिलो भरिलो तुल्याएको तथ्यलाई नकार्न सकिंदैन । त्यति मात्र नभएर यहाँका साहित्यिक सङ्घसंस्था र स्रष्टाहरुको अन्य जिल्लाका कार्यक्रमसमेत दर्विलो उपस्थिति रहनु र अन्य जिल्लाका स्रष्टाहरु यस जिल्लामा आएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नुले देशव्यापी रुपमा साहित्यिक सद्भाव, सहिष्णुता र एकता मजबुत बनाउन अहम भूमिका खेलेको प्रष्ट हुन्छ ।

Darpan-Rokaअन्तमा
२०७२ सालमा म्याग्दीमा संख्यात्मक रुपमा मात्र साहित्यिक गतिविधिहरु सञ्चालन भएनन् ती गुणात्मक रुपमा पनि अत्यन्तै फलदायी रहे । पुराना कर्मकाण्डी परम्परालाई तोडेर हाम्रो मुक्तक यात्रा, संस्थागत कृति प्रकाशन, त्रितालमा गजल, एकल कविता वाचन जस्ता नयाँ साहित्यिक आयामहरुको थालनी र राष्ट्रिय रुपमा ख्यातिप्राप्त स्रष्टाहरुलाई म्याग्दी आगमन गराउनुले राष्ट्रिय अन्तरराष्ट्रिय साहित्यिक क्षेत्रमा म्याग्दीले एक खालको पहिचान बनाउन सफल भएको छ । यो जिल्लाकै गौरवको विषय हो । भुकम्प र संविधान घोषणापछिको नाकाबन्दीबाट उत्पन्न असहज परिस्थितिमा समेत म्याग्दीको साहित्य यस गतिमा अगाडि बढ्न सक्नु अत्यन्तै सकारात्मक पक्ष हो । म्याग्दीलाई साहित्यमार्गमा यस रुपमा अगाडि बढाउन अहम् भूमिका खेल्ने यहाँ क्रियाशील सबै साहित्यिक सङ्घसंस्था, यहाँका स्रष्टाहरु, सञ्चारमाध्यमहरु र सबै साहित्यप्रेमी महानुभावहरुलाई साधुवाद भन्नैपर्छ र २०७२ लाई पनि धन्यवाद टक्रयाउनै पर्छ । वर्ष २०७३ ले पनि २०७२ का यस प्रकारका साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिंदै म्याग्दीको साहित्यिक फाँटलाई अझै हराभरा तुल्याउन मद्दत गरोस् । नववर्ष २०७३ को सबैमा साहित्यिक शुभकामना । जय साहित्य ।

विशेष धन्यवाद
— रामप्रसाद सुवेदी, समालोचक एवम् साहित्यकार म्याग्दी

— ध्रुवलाल शर्मा, साहित्यकार एवम् अध्यक्ष म्याग्दी साहित्यिक समाज, म्याग्दी

— अजयमिलन श्रेष्ट, साहित्यकार, म्याग्दी

— सुशील थकाली ‘अनुरागी’, साहित्यकार एवम् अध्यक्ष, सुवासना साहित्यिक सदन, म्याग्दी

— घायलश्री, साहित्यकार एवम् अध्यक्ष, म्याग्दी साहित्य सञ्चार, म्याग्दी

— सन्दीप खत्री, साहित्यकार, सञ्चारकर्मी एवम् सचिव म्याग्दी साहित्य सञ्चार म्याग्दी

— तारामिलन छन्त्याल, साहित्यकार एवम् सम्पादक स्वर्गाश्रम द्वैमासिक पत्रिका, म्याग्दी