लोमान्थाङमा तिजी पर्वको उल्लास

उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक सुरु भएको छ ।१५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । लोमान्थाङ दरबारको प्रागङ्णमा सञ्चालन हुने तिजी पर्वमा पहिलो दिन विभिन्न देवी देवताको पूजापाठ गरिन्छ । अन्य दुई दिन सांस्कृतिक नृत्य प्रदर्शन हुने बताइएको छ ।

DSC00863 (5)तिजी पर्वको पूर्वसन्ध्यामा लोमान्थाङ क्षेत्रमा स्थानीय आमा समूह, युवा क्लब, सरसफाइसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयोजनमा सरसफाइ गरिएको लोमान्थाङका समाजसेवी इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उपल्लो मुस्ताङीले आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामनासाथ तिजी पर्व मनाउने गर्दछन् । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिएको पाइएको छ । मुस्ताङी पूर्वराजा जिग्मे परवल विष्टले भने बिरामी रहेका कारण पर्वमा सहभागिता जनाउनु हुनेछैन ।

पूर्वराजा विष्टलाई विगत पाँच वर्षदेखि ब्लड प्रेसर र युरिक एसिडको समस्या छ । यो समयलाई राजासँग स्थानीयले भेटघाट गर्ने र आफ्नो समस्यासमेत बिसाउने गर्छन् । पर्वमा लोमान्थाङ, छुसाङ, चर्राङ, सुर्खाङ, छोण्हुप र घमी गाविसका सर्वसाधारणले सहभागिता जनाउने गर्दछन् । तिजी पर्वमा रमाउन विदेशी पर्यटक पनि लोमान्थाङ पुग्ने गरेका छन् । रासस