म्याग्दीको सदरमुकाम बेनीका युवाहरुले पुरानो बर्खेचानलाई संरक्षणमा गर्न जुटेका छन् । युवाहरुकै सक्रियतामा अहिले बजारमा बर्खे नाच देखाउन थालिएको छ ।बेनीमा बर्खेनाचलाई पुरानो संस्कृतिका रुपमा हेरीन्छ । पुस्तौ पहिला देखि अहिले सम्म पनि यो त्यतिनै लोकप्रिय छ । आधुनिकिकरण,जनशक्ति र आर्थिक समस्याका कारण वर्खेनाचलाई निरन्तरता दिन चुनौती थपिएको मंकाखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुविन श्रेष्ठले बेनीअनलानलाई बताए। ‘हामीले यसलाई प्रभावकारी बनाउने योजना बनाएका छौ ।
आगामी बर्षदेखी बर्खेनाचका धेरै कार्यक्रमलाई निरन्तरता दिने योजना छ’ उनले भने । केहीबर्ष यता पुरानो संस्कृतिलाई संरक्षण गर्नुपर्दछ भनेर युवाहरुले अग्रसरता देखाएका छन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शी देखि हरितालीका तिज पर्वको दिनसम्म बेनीमा वर्षौदेखि बर्खेनाच देखाउने चलन छ । बेनीमा देखाइने बर्खे नाथ नेवारी समुदायको परम्परागत संस्कृति हो ।
स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान मानिने बर्खेनाच नाच्न अन्य समुदायका युवाहरुले पनि अग्रसरता देखाउन थालेकाले निरन्तरता दिन सम्भव भएको नरेश श्रेष्ठले बताए ।सहरबजारमा सबै आ–आफ्नो काममा व्यस्त हुन थालेपछि संकटमा परेको बर्खेनाच पछिल्लो समय नेवारका साथै क्षेत्री, बह्माण र जनजाती युवाहरुले पनि साथ दिएकाले निरन्तरता दिन सकिएको छ।
नेपाल भाषा मंकाखलको यूवा संगठन ल्याम पुचःको आयोजनामा देखाउन थालिएको बर्खेनाच अन्र्तगत लाखेनाच, घोडा नाच, नागानागीनी नाच देखाइन्छ। अघिल्लो बर्ष रोपाई नाच देखाइएपनि जनशक्तीको अभावमा यसलाई हरेक बर्ष निरन्तरता दिन सकिएको छैन् । सदरमुकाम बेनीबजारमा मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको देखिन्छ । बर्खेनाच सुरु भएपछि बेनीमा चाडपर्वको रौनकता सुरु भएको समेत बुझ्ने गरिन्छ ।
संस्कृतीनै लोप हुने अवस्था आउन नदिन युवाहरुले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको हो । ल्याम पुचले यूवाहरुलाई विभिन्न नाँचका बारेमा समेत प्रशिक्षण सहित प्रोत्साहन गरेका कारण पनि यूवाहरु आर्कषित भएका हुन्। परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।
बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । बजार परिक्रमा गर्दै नाच देखाउने परम्परा छ । बर्खे नाच अन्तरर्गत नै गाइजात्राको दिन बर्षभरी निधन भएकाको आफन्तकहाँ पुगेर मृतकको चिरशान्तिको कामना गर्ने चलन रहेको छ । यूवाको सक्रियतामा भइरहेका यस्ता कार्यलाई निरन्तरता दिन भने चूनौतीपुर्ण छ। रोजगार, शिक्षाका लागि विदेशीने क्रम बढ्नु लगाएतका कारणले निरन्तरता दिन चूनौती रहेको छ । बेनीबजारका नेवार समुदाय संगै अन्य जातीका यूवाले समेत बर्खे नाचमा सघाउने गरेका छन् ।