(प्रताप बानियाँ)
‘घर शान्ति नै विश्व शान्तिको आधारः दीगो विकासका लागि लैङ्गिक हिसारहित समाज’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०१६ शुक्रबारदेखि शुरु भएको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने यो दिवस महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा आज सदरमुकाम बेनीमा ¥यालीसहित शुरु गरिएको हो ।
महिला विकास कार्यालयको संयोजनमा निकालिएको ¥यालीमा जिल्लास्थित विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, महिला सहकारी, आमा समूह, राजनीतिक दल, सरोकारवाला निकायलगायतले एक्यबद्धता जनाउँदै सहभागीता जनाएका छन् । बेनीको शहिद स्तम्भचोकबाट प्ले कार्डसहित शुरु भएको ¥यालीले लैङ्गिक हिंसाविरुद्धका नारा लगाउँदै पुनः सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले लैङ्गिक हिंसा न्युनीकरणका लागि आयस्रोत र चेतनाको विकास गर्नुपर्ने बताए । उनले समाजमा घट्ने हिंसा न्युनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै छोराछोरी दुवैलाई समान अधिकार दिनुपर्नेमा जोड दिएका थिए ।
महिला तथा बालबालिका कार्यालय म्याग्दीका प्रमुख महिला विकास अधिकृत निर्मला शर्माले लैङ्गिक हिंसा नगर्ने प्रतिबद्धतासहित कार्यालयमार्फत सबैलाई सेतो रिबन वितरण गरिएको बताउँदै हिंसारहित सुन्दर भविष्यका लागि यस वर्षदेखि १६ दिने अभियानका क्रममा साङ्केतिक रुपमा सुन्तला रङको पनि प्रयोग गरिएको बताइन् ।
महिला विकास कार्यालयका बाल संरक्षण निरीक्षक भुबनबहादुर मल्लले सञ्चालन गरेको कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल म्याग्दीका अध्यक्ष पशुपति शाहीले मन्तव्य राखेकी थिइन् । यसैक्रममा १६ दिने अभियानअन्तर्गत जिल्लाको सदरमुकाम र गाविसहरुमा विभिन्न संघसंस्थाको आयोजनामा अभियान अवधिभर लैङ्गिक हिंसा न्युनीकरणसम्बन्धी कार्यक्रमहरु गरिने महिला विकास कार्यालय म्याग्दीले जनाएको छ ।
लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ (महिला विरुद्धको अन्तर्राष्ट्रिय दिवस)बाट सुरु गरी डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानवअधिकार दिवस)सम्म अभियान सञ्चालन गरिन्छ ।