म्याग्दीका शिख गाविसका दुई गाउँमा जनतासँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । सांसद् रेशम बहादुर बानियाँले उत्तरी म्याग्दीका विभिन्न गाविसमा जनताका समस्याहरु बुझ्न सुरु गरेको अभियान अन्र्तगत शिख गाविसको पाउद्धार र देउराली गाउँमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पाउद्धारमा गाउँ संयोजक भीमबहादुर तिलिजाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद् बानियाँले जनताका समस्या, गुनासा र विकास निर्माणका कार्यहरुको अवलोकन गर्ने उद्देश्यले आफुले उक्त अभियान सुरु गरिएको बताए ।

उनले दुई गाउँका समस्या समाधान गर्न लागिपर्ने बताए । नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य कृष्ण बरुवालले सञ्चालन गरेको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति खम्बीर गर्बुजा, महाधिवेशन प्रतिनिधी भरत रकाल, पूर्व सहसचिब अजयमिलन श्रेष्ठ, नेपाली काँग्रेस शिख गाउँ कार्य समितिका सभापति तीर्थबहादुर पुन, नेकपा एमालेका प्रतिनिधी कृष्णबहादुर तिलिजा, पाउद्धार माविका प्रधानाध्यापक थममायाँ पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

देउरालीमा शिख गाविस सचिब खेमराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा शिख माविका प्रधानाध्यापक जगदिश आचार्य, थमिन बहादुर बुदुजा, स्थानीय समाजसेवी बुद्धबीर गर्बूजा लगायतले आफ्ना समस्याहरु राखेका थिए भने कार्यक्रममा नेपाली काँग्रेसका पूर्वसहसचिब अजयमिलन श्रेष्ठ, कृष्ण बरुवाल, नेविसंघका विशाल क्षत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेकपा एमालेका दुर्गाबहादुर खातीले स्वागत गरेको कार्यक्रमको सञ्चालन तरुणदलका सुर्दशन रम्तिजाले गरेका थिए । दुबै गाउँमा सांसद बानियाँलाई स्थानीय आमा समूह, युवा क्लब तथा गाविसका राजनैतिक संयन्त्रका पदाधिकारीहरुले स्वागत गरेका थिए ।