म्याग्दीको भकिम्ली–७ मा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट अन्दाजी ६० मिटर तल सडकमा पल्टिदा भकिम्ली–८ का गंगामणि छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी लेखानी–६ बागलुङकी २३ वर्षीया राजकुमारी रोका र उनकी ५ महिनाकी छोरी दिया रोका घाइते भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । उनीहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको छ भने अवस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी दुर्घटनाबाट घाइते भएका अन्य पाँच जनालाई एम्बुलेन्स र बसबाट अस्पताल ल्याइँदै गरेको उहाँले बताउनुभएको छ । दुर्घटनास्थलमा अहिले प्रहरी पुगेको छ भने सवारीचालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन