म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी भकिम्ली–८ का अन्दाजी ६० वर्षीय गंगामणि छन्त्यालको घटनास्थलमै मृत्यु भएको छ भने लेखानी–६ बागलुङकी ६ वर्षीया युरीना रोकाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बेनीअनलाइनलाई बताउनुभयो । यसैगरी दुर्घटनामा परेर लेखानी–६ बागलुङकी २३ वर्षीया राजकुमारी रोका, उनकी ५ महिनाकी छोरी दिया रोका, वर्ष २८ की मिना रोका, उनको १४ महिनाको छोरा युसन रोका घाइते भएको उहाँले बताउनुभयो ।

त्यस्तै भकिम्ली–३ का ४३ वर्षीया पूर्णकली पुन, ६ नम्बर वडाका ३० वर्षीया कोपिला छन्त्याल र ७ का ५० वर्षीया जुनकिरी पुन पनि घाइते भएको उहाँले जानकारी दिनुभएको छ । घाइतेहरु सबैको उद्धार गरी जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भैरहेको छ प्रनाउ खड्काले बताउनुभयो । घाइते अधिकांशको टाउको, अनुहार र शरिरको विभिन्न भागमा चोट लागेको छ । दुर्घटनाको खबर पाएलगत्तै जिल्लाबाट प्रहरीको टोली र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।