पश्चिम म्याग्दीको दरबाङ गाविस वडा नं ३ दुखुबेंसीमा अवस्थित ‘भाले बास्ने’ ताल आवश्यक प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ ।
सो ताल नजिकै रहेको झरनाबाट बिहान सबेरै भाले कराएको आवाज आउने र त्यहाँ पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ।

तालको प्रचार प्रसार र केही पूर्वाधारहरु निर्माण गर्न सक्नेहो भने भालेवास्ने ताल स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि महत्वपूर्ण स्थल बन्न सक्ने सम्भावना रहेको मितेरी युवा क्लब दुखुबेंसीका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । धार्मिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण रहेको सो तालमा पूजा आजा र भाकल गरेमा आफूले इच्छाइएको कुरा पूरा हुने भएकोले पनि भालेवास्ने तालको प्रचारप्रसार र संरक्षण आवश्यक रहेको रोकाले बताउनुभयो ।

पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २० वर्गमिटर क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न स्थानीय बासिन्दाको पहलमा पदमार्ग निर्माण गरिएको भएपनि त्यो पर्याप्त नभएको रोकाको भनाइ थियो । ‘तालसम्म पुग्ने पदमार्ग निर्माण गरिए पनि अन्य पूर्वाधार र प्रचारप्रसार हुन नसक्दा अपेक्षाकृत भक्तजन तथा पर्यटक आगमन हुन सकेको छैन’ रोकाले भन्नुभयो ।

सो स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रचारप्रसारको आवश्यकता रहेको उहाँको भनाइ छ । बेनी–दरवाङ सडकको सहस्रधारा खण्डदेखि करिब एक घन्टा पैदल हिँडेपछि तालमा पुग्न सकिन्छ ।यसैबीच भाले बास्ने ताल र मालिका लगायत दुखु गाउँको धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारका लागि न्यु मालिका युवा क्लबले वृत्तचित्र र गीतको म्युजिक भिडियो तयार गरेको छ । रु चार लाखको लगानीमा निर्मित वृत्तचित्र र म्युजिक भिडियोमा मालिका, भाले बास्ने ताल र दुखु गाउँको दृश्य समावेश गरिएको क्लबका तेजेन्द्र पुनले बताउनुभयो । (धु्रबसागर शर्मा)