म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम बालाचर्तुदशी पर्वको अवसरमा विहानै देखी भक्तजनको भिड लागेको छ । शिवजीको बारका रुपमा समेत चिनिने सोमबार नै परेको बालाचर्तुदर्शीका दर्शन गर्न म्याग्दीका विभिन्न गाविसका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट समेत भक्तजनहरू आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए ।
‘आज बेलुकीसम्म नै पुजाआजा जारी रहन्छ । विगतका बर्षको तुलनामा भक्तजनहरुको भिड देखिएको छ’ उनले भने । पर्वको अवसरमा पवित्र कालिगण्डकी नदीमा स्नान गरी धार्मिक परम्परा अनुसार सतबिजमा छदैं भक्तजनहरु मुल मन्दिरमा पुजाआजा गरेर फर्किएका छन्। भक्तजनलाई सहज पुजाआजाको ब्यवस्थापन गर्न गलेश्वर आमा समुह, टोल सुधार समिति, नेपाल प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुले मन्दिर प्रवेशद्धार देखी पुजाआजा गर्ने विभिन्न स्थानमा खटिएका थिए ।
गलेश्वरमा रातभर जागरमा बसी पृतिउद्धार तथा शिवलोक प्राप्ती गर्ने जनविश्वासका साथ परापुर्वकाल देखी नै गलेश्वरधाममा सतबिज छर्ने गरिन्छ । रातीमा जाग्राम बसी भजन कृर्तन गाउने र बेलको वोटमुनी बक्ति बालेर विहिबार विहानै प्रसिद्ध कालिगण्डकी नदीमा नुहाई सतबिज छर्ने चलन रहेको छ । विभिन्न सय थरी बिउहरुलाई छर्ने भएकाले सतबिज नामाकरण गरिनुका साथै राजा भरतले ४ धाम मध्ये गलेश्वरमा तपस्या पुरा गरेको किम्वतन्ती रहेको गलेश्वर शिवालय क्षेत्र विकासकोषका उपाध्यक्ष एवम् पण्डित भिननाथ पराजुलीले बताए ।
सतबिजमा कोदो बाहेक धान,गहुँ ,मकै ,जौ ,केरा,सुन्तला लगायतका अन्न तथा फलफलु छर्ने गरिन्छ । विषेशगरी बालाचर्तुदर्शीको अवसरमा शिब मन्दीर परीसरमा सतबिज छर्नाले संसारमा भोकमरी नहुने र खेतीपातीको राम्रो संरक्षण हुने जनविश्वास रहेकाले पनि हरेकबर्ष देशका विभिन्न स्थानबाट गलेश्वरमा पुजाआजा गर्ने गर्दछन् । भगबान शिवजीका ८८ वटा अवतार मध्ये बाल अवतारको अवसरमा परापुर्व समयदेखी नै गलेश्वरधाममा सतबिज छर्ने प्रचलन रही आएको छ ।
परिसरमा चोरी हुनसक्ने भन्दै सिसी क्यामेरा समेत जडान गरिएकाले पनि कुनै घटना नघटेको ब्यवस्थापन पक्षले जनाएको छ । पोखराबाट यसपटक बस रिजर्व गरेर समेत भक्तजनहरु आएका छन् । मन्दिरमा सुरक्षा, पुजा तथा बत्ति,गणेश मन्दिर दर्शन, नरिवल फुटाउने, शिवलिङ्ग दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, शिवचक्रशिला परिक्रम, गाडी पार्किङ, पुजा साम्रागी विक्री बजारलाई समेत ब्यवस्थित बनाइएको थियो ।
मन्दिर परिसर भित्र कलात्मक शैलीको राधाकृष्ण मन्दिर समेत बनाइएकाले भक्तजनको संख्या बढेको छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रुपि चिन्ह मानव निर्मित नभै स्वयम उत्पन्न नित्य सनातन हरिहर स्वरुप भएको हिन्दुधर्मका जानकारहरु बताउँछन् ।