बालाचतुर्दशीमा ५० हजारभन्दा बढी भक्तजनले गलेश्वर मन्दिरको दर्शन

0

(प्रताप बानियाँ)
म्याग्दीको गलेश्वर मन्दिरमा बालाचतुर्दशी पर्वको अवसरमा करिव ५० हजार भक्तजनले दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पछिल्ला पाँचबर्ष यता बालाचर्तुदर्शीको अवसरमा दर्शन गर्न आउने भक्तजनमा यसबर्ष अत्याधिक रहेको कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए ।
img_00281
‘अनुमान गरेभन्दा धेरै भक्तजनले दर्शन गरे । दिनभर कालिगण्डकी नदीमा स्नान गर्ने भक्तजनहरुको संख्या समेत अत्याधिक थियो’ अध्यक्ष केसीले बेनीअनलाइनलाई भने । आइतबार देखी जिल्ला बाहिरबाट भजन सहित सवारीसाधन रिर्जव गरेर समेत भक्तजनहरु दर्शनका लागि आएका थिए ।पर्वको अवसरमा शतबीज छर्ने भक्तजनहरुको भीड ब्यवस्थापन गर्न समेत हम्मेहम्मे भएको कोषले जनाएको छ ।
img_00952
बालाचतुर्दशीमा शतबीज छरेमा मनोकांक्षा पुरा हुनुका साथै आफ्ना पितृको उद्धारका साथै शिवजीको बार समेत भनेर चिनिने सोमबार अझै राम्रो हुने भन्दै तराई क्षेत्रबाट सभेत आएका थिए । बालाचतुर्दशीका दिन भक्तजनले धार्मिक शिवालय मन्दिरहरुमा धान, मकै, जौ, तिल, चामल, बोडी, चना, सक्खरखण्ड, हलेदोलगायतका चिज गरी सयथरी अन्नको शतबीज छर्ने प्रचलन रहेको छ । अत्याधिक भक्तजनका कारण दिनभर बेनी गलेश्वर सडक जाम हुनुका साथै मन्दिरमा समेत साँझसम्म भिड रहेको थियो ।
img_0144
आफ्ना परिवारका दिवङ्गत सदस्यको सद्गतिको कामनाका साथ मार्गकृष्ण त्रयोदशीकै दिन साँझदेखि भक्तजनले दिप प्रज्ज्वलन गरी शतबीज छर्न भजनकिर्तनसहित रातभर जाग्राम बसेका थिए । भक्तजनले गलेश्वर मन्दिरनजिकै रहेको पवित्र कालीगण्डकी नदीमा स्नान गरी बाजागाजा गरी तोरण तारेका छन् । बालाचतुर्दशीका दिन शिव मन्दिरमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा समेत बास पाउने शास्त्रीय मान्यता रहेको हुँदा सतबीज छर्न भक्तजनको घुइँचो लागेको पण्डित भिमनाथ पराजुलीले बताए ।
img_0144
यस वर्षको बालाचतुर्दशीमा गलेश्वर मन्दिरमा म्याग्दीसहित पर्वत, बागलुङ, पोखरा, काठमाडौं, चितवन, नेपालगञ्ज, बाँके, रुपन्देही, झापालगायतका जिल्लाबाट हजारौंको सङ्ख्यामा भक्तजनहरु आएको थिए। बालाचतुर्दशी पर्वलाई लक्षित गरी गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ ।
img_0080
द्वापरयुगमा सतीदेवीको गला पतन भएको ठाउँका रुपमा चिनिने गलेश्वर मन्दिरमा दर्शन गरेमा पाप नष्ट भई मानिसलाई सुखशान्ति मिल्ने विश्वास पनि रहेको छ । यसैबीच बालाचतुर्दशी पर्वकै अवसरमा गलेश्वरमा व्यापारिक मेला लागेको छ । गाउँगाउँ र छिमेकी जिल्लाबाट व्यापारीहरु आएर नाङ्लो, डालो, ठेकाठेकी, कपडालगायतका दैनिक उपभोग्य सामाग्रीको व्यापार शुरु गरेका छन् ।
img_0093