(हरिकृष्ण गौतम)
म्याग्दीको सदरमुकाम बेनी देखी पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्डको कालोपत्रे र स्तरउन्ततीका लागि अर्थमन्त्रालयले बहुबर्षिय ठेक्कामा लैजान स्वीकृती दिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले रणनैतिक सडकमा समावेश गरी बहुबर्षिय ठेकका तथा आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा गरेको प्रस्ताव आइतबार स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका अनुसार २९ किलोमिटर कालोपत्रे, स्तरउन्नतीका लागि सडकको लागत इस्टमेट अनुसार १८ करोड ५५ लाखको निर्माण कार्य बहुबर्षिय ठेक्का सोही कार्यालयको विनियोजित बजेट अनुसार नै उपप्रधान तथा अर्थमन्त्रीको निर्णय अनुसार स्वीकृत गरिएका पत्रमा उल्लेख छ ।
बहुबर्षिय योजनामा पश्चिम म्याग्दी जोड्ने सडक परेपछि म्याग्देली उत्साहित भएका छन् ।उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले समेत सो सडकका विषयमा आफुँ जानकार रहेको बताउँदै आइरहेका थिए । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त भएपछि म्याग्दीका मिन बहादुर श्रेष्ठले समेत जिल्लाको भ्रमणको क्रममा राहुघाट जलविद्युत आयोजना र विकास निर्माणका क्षेत्रमा अलपत्र तथा आवश्यक योजनाहरुलाई प्राथमिकता दिने बताएका थिए ।
पश्चिम म्याग्दीका विभिन्न गाविसका साथै छिमेकी जिल्लाका बागलुङको निर्वाचन क्षेत्र–३ मा पर्ने तमान गाविस, खुनखानी गाविस लगाएतका बस्तीका साथै रुकुम जिल्लाका केही गाविसबासीले समेत प्रयोग गर्ने बेनी–दरवाङ सडकखण्डको मर्मतसम्भारका साथै स्तरउन्नतीका लागि जिविस अन्र्तगतको ड्रिलिपमार्फत सडकको स्तरउन्तीको प्रयास भएपनि बालुवामा पानी हालेजस्तै भएपछि पश्चिम म्याग्दीमा जनताहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थिए ।
सडक विभाग मार्फत सडकखण्ड अन्र्तरगत पर्ने बेनी नगरपालिकाका विभिन्न बजारका साथै बावियौचार, कुहुँ, अर्मन, बरंजा, दरवाङ, निस्कोट, ओखरबोट, रुम, देविस्थान, ताकम, बिम, मराङ, मल्कवाङ, कुईनेमंगले गाविसका केही भागका साथै मुना, लुलाङ, मुदी गाविसका साथै दुई छिमेकी जिल्लालाई जोड्ने रणनीतिक सडकको रुपमा प्राथमिकतामा राखेर विस्तृत आयोजना प्रतिवेदन (डिपीआर० तयार गरेको थियो । ‘जिल्लाको विकासमा लागि बहुबर्षिय योजना आवश्यक थियो ।
अर्थमन्त्रालयको निर्णयले म्याग्दीबासीलाई उत्साहित बनाएको छ’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन बहादुर विश्वकर्माले भने । उनले कालोपत्रे संगै सडकस्तरउन्ती भए त्यसले ब्यापारिक, पर्यटन, जलविद्युत, कृषि लगाएतका क्षेत्रमा उल्लेखनीय सहयोग हुने बताए । म्याग्दीमा स्वागत कार्यक्रम गरी योजना आयोगका उपाध्यक्ष श्रेष्ठलाई समेत जिल्लाका अति आवश्यक क्षेत्रमा बजेट माग गर्ने क्रममा म्याग्दी उद्योग वाणिज्य संघले बेनी–दरवाङ सडकलाई समेत समावेश गरेको थियो ।
२०५५ सालबाट ट्याक खोल्न सुरु गरिएको सडकले २०६४ सालमा पूर्णता पाएको थियो । गतबर्ष बेनीबाट कालोपत्रेको कार्य सुरू भएपनि बहुबर्षिय ठेक्काको अन्यौताले म्याग्देली निरास थिए । माओवादीले बावियाचौरमा सडक निर्माणका लागि प्रयोग गरेको डोजर ध्वस्त बनाएपछि ठप्प भएको सडक निर्माणका कारण रुकुम जिल्ला जोड्ने छोटो र सहज मार्ग निर्माणमा ढिलाई भएको थियो । कच्ची र साँघुरो सडकका कारण ट्याक्क खोलिएपछि पनि बेनी–दरवाङ सडकमा भयानक दुर्घटनामा धेरैले ज्यान गुमाएका छन्। निजी र सार्वजनिक यातायातमा करिव साढे दुईघन्टा लाग्ने सडक फराकिलो र कालोपत्र गरिए आधाघण्टाको दुरी रहेको प्राविधिकहरुको प्रतिवेदनमा उल्लेख छ ।