कालिगण्डकी नदीमा देखिन छाडे तोरन

0

आधादशक अगाडीसम्म म्याग्दीको गलेश्वरमा तोरन तार्ने भक्तजनको ताँती लाग्थ्यो । बाजागाजा र भजन सहित आउने भक्तजनले कालिगण्डकी नदी छपक्कै छोप्थे । मन्दिर आसपासका क्षेत्रमा तोरन तार्नेहरूको भिडले रौनकता छाउने गरेको थियो । तर समयको परिवर्तन, जनशक्तीको अभाव र परम्परागत प्रचलनमा कम रुचीका कारण यसबर्षको बालाचर्तुदशी पर्वको अवसरमा एउटा तोरन तानिएको छ । कालिगण्डकी नदीमा तोरन तार्ने पुरानो प्रचलन हराउँदै जानुलाई पश्चिमा संस्कृतिको प्रभावका रुपमा लिनुपर्ने पण्डित भिमनाथ पराजुलीले बताए ।

‘विगतमा तोरन ल्याएर आएकालाई सम्पर्क समेत गरियो । सबैले जनशक्तीको अभाव र रुची घटेको बताउँछन’ पराजुलीले भने । उनले नयाँ पुस्तालाई हिन्दुधर्मका महत्वका बारेमा जानकारी गराउने एउटा महत्वपुर्ण माध्यम बनेको तोरन तार्ने चलनलाई निरन्तरता दिने गरी धार्मिक क्षेत्रमा आवद्ध रहेका संघसंस्थाले सक्रियता देखाउनुपर्नेमा जोड दिए । ‘ तोरन तार्ने प्रतिस्पर्धा वा पुरस्कारको ब्यवस्था गरेर भएपनि निरन्तरता दिनुपर्छ । केहीबर्षमा यो लोभ हुने निश्चित छ’ उनले भने ।
img_00262
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम शिवालय मन्दिको दर्शन र पुजाआजा गरेपछि नजिकै रहेको कालिगण्डकी नदीमा दर्जनौ तोरन वारपार गरी तार्ने चलन रहेपनि यसबर्ष एक वटामात्रै तोरन तारिएको छ । प्राचिनकाल देखी भगवानलाई खुसी पार्न, आफ्ना दिवङ्गत परिवारको उद्धार तथा मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ एउटा तोरनमा अनेकथरी फुल राखी कालिगण्डकी नदीमा विषेश पुजाआजा गरी नदी वारपार गर्ने गरिन्छ ।
गलेश्वरमा रातभर जागरमा बसी पृत्रीउद्धार तथा शिवलोक प्राप्ती गर्ने जनविश्वासका साथ परापुर्वकाल देखी नै तोरन तार्ने सहित सतबिज छर्ने गरिन्छ ।

आधादशक अगाडीसम्म म्याग्दीको गलेश्वरमा हरिवोधनी एकादशी, तुलसीको पुजा र बालाचर्तुदशी पर्वमा एकदिन अगाडी मन्दिरमा पुगेर भजनकृतन वा समय अभाव भएकाले तोरन प्रस्थान गरेको स्थानबाटै बाजागाजा र नाचगान सहित मन्दिरसम्म पुग्नुपर्ने परम्परा रहेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत लगाएतका क्षेत्रबाट समेत आउने गरेको भएपनि नाकाबन्दी र यातायातको असहजताका कारण पनि असर गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए ।

‘तोरनलाई छोएपनि गति परिन्छ भन्नेहरु पनि पाइन्छ । यूवापुस्तालाई आर्कषित गरे जोगाउन सकिन्छ’ उनले भने ।दुलहीजस्तै सजाएर कोदो बाहेक धान,गहुँ ,मकै,जौ,केरा,सुन्तला लगायतका अन्न तथा फलफलुलाई गण्डकीसम्म लैजाने गरिन्छ। नयाँ पुस्तालाई तोरनको प्राचिन महत्व र विधिका बारेमा जानकारी नभएकाले पनि यसको संरक्षणमा ध्यान जान नसकेको धार्मिक क्षेत्रका जानकारहरू बताउँछन् ।