व्यवस्थापिका संसदमा नेपाली कांग्रेसको तर्फबाट मनोनित हुनुभएको सांसद रेशमवहादुर बानियाँले उत्तरी म्याग्दीको प्रस्तावित अन्नपूर्ण गाउँपालिका अन्तर्गतका आठवटा गाविसहरुको भ्रमण गर्नुभएको छ ।भ्रमण गरेर फर्केपछि मंगलवार बेनीमा पत्रकार सम्मेलन गरी भ्रमणको उद्धेश्य,ती क्षेत्रका वस्तुस्थिति र जनताका समस्याहरुको बारेमा जानकारी गराउनुभएको छ ।

प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद वानियाँले एक हप्तासम्म जनप्रतिनिधिको हैसियतले गरेको उत्तरी म्याग्दीको भ्रमणले जनताका समस्या र गुनासालाई नजिकैबाट बुझ्ने मौका मिलेको बताउनुभयो । सांसद बानियाँले उत्तरी म्याग्दीका गाउँमा रहेका अधिकांश विद्यालयहरुमा शिक्षक दरबन्दीको अभाव, विद्यालय परिसरमा पर्खाल लगाउनु पर्ने र खेलकुद मैदानको अभाव रहेको जानकारी दिनुभयो ।

त्यसैगरी गाउँमा जनसहभागितामा प्रशस्तै उदाहरणीय कामहरु भएका बताउँदै सरकारी बजेट र योजना अनुसार प्रशस्त खर्च र समय लाग्ने कामहरु पनि न्यून बजेटमा समयमै सम्पन्न भएका जानकारी दिनुभयो । हिस्तानका जनताले पैसा उठाएर थोरै रकममा पनि धेरै काम गरेका सांसद बानियाँको भनाइ थियो ।
15202693_351408531884480_7406233832447901538_n
झारखोला–पाउद्धार–किन्दु हुँदै स्वाँता जोड्दे सडक अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि त्यसले प्राथमिकता पाउन नसकेकोमा स्थानीयको गुनासो रहेको पनि सांसद बानियाँले जानकारी गराउनुभयो । त्यस्तै बेनी–जोमसोम सडक स्वदेशी तथा विदेशी पर्यटक,तीर्थयात्री र उत्तरी म्याग्दीका ८ गाविसका जनताका लागि अत्यन्त महत्वपूर्ण सडक हुँदाहुँदै पनि स्तरोन्नति र कालोपत्रे गर्न सरकारले ध्यान नदिएको प्रति जनताले गुनासो व्यक्त गर्दै स्तरोन्नतिका लागि माग गरेका जानकारी गराउनुभएको थियो ।

अधिकांश जनता सांसद विकास कोषवाट प्राप्त हुने रकमप्रति बढि आशावादी रहने गरेको बताउँदै सांसद बानियाँले जनताका समस्या केन्द्रमा जानकारी गराउने र समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रम नेपाल प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालको अध्यक्षता र राकेश शर्माको संचालनमा सम्पन्न भएको थियो ।