जिल्लामा निर्माणधिन ठुला जलविद्युत आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आकारका जलविद्युत आयोजनाको निर्माणकार्य तिब्र रूपमा अगाडी बढेको छ ।
सरकारी स्वामित्वमा रहेको ४० मेगावाटको राहुघाट जलविद्युत र निजी क्षेत्रको लगानीमा रहेका जलविद्युत आयोजनाहरू कानुनी र विवादमै अल्झिरहेको अवस्थामा उत्तरी म्याग्दीको नारच्याङमा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युतले दैनिक दुई चरणमा सुरुङ सहित आवश्यक पुर्वाधारलाई तिब्रता दिएको छ । नारच्याङ गाविसको विकटमा अवस्थित आयोजनालाई आवश्यक पर्ने निर्माण साम्रागी खच्चड, आयोजनस्थलमै रहेको रोपबे, भरिया लगाएतका माध्यमबाट समेत एकदिन पनि अवरुद्ध नहुने गरी निर्माणकार्यलाई निरन्तरता दिइरहेको छ ।
‘दुई सिफ्टमा काम भइरहेको छ । एकबर्षभित्र परिक्षण विजुल उत्पादन गर्ने लक्ष्य लिएका छौं’ आयोजनाक अध्यक्ष किशोर सुबेदीले बेनीअनलाइनलाई भने । उनले जिल्लामा जलविद्युतको प्रचुर सम्भावना रहेपनि निर्माणधिन अवस्थामा रहेका आयोजनाले सुस्त काम गरे नयाँ लगानीकर्ता समेत निरुत्साहित हुनसक्ने भएकाले पनि आफुँहरूले निर्माणकार्यलाई २४ घण्टा नै नियमित बनाइरहेको बताए । आयोजनाको ड्यामदेखी टनेलसम्मको इन्टेक तर्फ ३ सय ५६ र आउटलेट तर्फको ६ सय ४० मिटरभन्दा बढी सुरूङ खन्ने काम सकिएको छ ।
इन्टेक, पावर हाउसको निर्माणकार्य समेत अन्तिम चरणमा पुगेका आयोजनाले जनाएको छ ।आयोजनाको बाँधस्थलमा भइरहेको कामलाई अनुगमन गर्ने आयोजनाकै सञ्चालकहरू निर्माणस्थलमै बस्न थालेपछि अपेक्षा गरेअनुसारकै काम भइरहेको घलेम्दी हाईडो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजालले बताए । ‘प्राविधिक समस्या तत्कालै समाधान गर्ने टोली आयोजनास्थलमै छ ।भौगोलिक विकटता भएपनि हामीले जलविद्युतको सम्भावनलाई काम गरेरै देखाइदिएका छौ’ रिजालले भने । उनका अनुसार इन्टेकको कुलो, फोरवेबाट पावर हाउससम्मको पाईप राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको सुरूङ निर्माणका लागि जेनेटर लगाएतका पेट्रोलियम पर्दाथको समेत प्रयोग गरेर काम भइरहेको छ । आयोजनाका काम गर्ने मजदुरलाई प्रोत्साहन, मासिक कामको मुल्याङ्कन तथा समस्याका बारेमा जानकारी गराउने सयन्त्र समेत बनाइएपछि कर्मचारीले समेत मध्यरातमा समेत निरन्तर काम गरिरहेका छन् । टनेल खन्ने क्रममा आवश्यक विष्फोटक पर्दाथ सहित नेपाली सेनाको श्रीबक्स गुल्मको टोली समेत आयोजनास्थलमै रहेको छ । करिब ७१ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाको एक हजार पाँच सय ५० मिटर सुरुङ र १५० मिटर हेड रहनेछ ।
विद्युत निर्माणका लागि आयोजनाले ३० करोड संस्थापक सेयर, ४५ करोड लाख बैंकबाट ऋण लिएको छ ।आयोजनालाई भिबोर सोसाईटी डेभलपमेन्ट २० करोड, टुरिजम डेभलपमेन्ट १० करोड, सिद्धार्थ डेभलपमेन्ट १० करोड, सिद्धार्थ डेभलपमेन्टकै अवकाश कोषबाट ५ करोड ऋण प्रवाह गरिएको छ । घलेम्दीखोलाको दोभानबाट १५ सय मिटर सुरुङ मार्गबाट पानी ल्याएर निलगिरि खोलाको किनारमा निर्माण हुने पावर हाउसमा जोडिने छ ।
आयोजनाबाट प्राधिकरणले बार्षिक साढे १३ करोड रुपैयाँ बरावरको विद्युत खरिद बिक्रि गर्ने जसमा बर्खायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद विक्रि गर्ने सम्झौतामा उल्लेख गरिएको छ । नारच्याङमै निर्माणधिन अवस्थामा रहेको रोर्वट इर्नजी प्रालिको ४२ मेगावाट मिस्त्रीखोलाको ६.५० किलोमिटर सडकमा लगानी तथा पावरहाउस सम्म करिव १ किलोमिटर सडक समेत विस्तार गरिएको छ। विद्युत प्राधिकरणको ३२ मेगावाट राहुघाट जलविद्युत, रोर्वट इनर्जी प्रालिको ४२ मेगावाट मिस्त्रीखोला, घलेम्दी हाईड्रो निर्माणको चरणमै भएपनि पश्चिम म्याग्दीको दरवाङमा कालिका हाईड्रो प्रालिबाट २५,अपर कालिगण्डकी लगाएतका ठुला मानिएका जलविद्युतको निर्माणकार्य सुन्यजस्तै छ।