म्याग्दीको पश्चिम क्षेत्रलाई जोड्ने बेनी–दरबाङ सडकखण्डमा नयाँ जीप सेवा सञ्चालन हुने भएको छ । पश्चिम म्याग्दीको दरबाङ क्षेत्रका युवा व्यवसायीहरुले पश्चिम म्याग्दी यातायात सेवा प्रालिमार्फत आगामी आइतबारदेखि बेनी–दरबाङ सडकमा जीप सेवा सञ्चालन गर्न लागेका हुन् ।

साढे तीन करोडको लगानी गरी १० ओटा जीप सञ्चालन गर्न लागेको पश्चिम म्याग्दी यातायात सेवा प्रालिले जनाएको छ । शुक्रबार सदरमुकाम बेनीमा पत्रकार सम्मेलनको आयोजना गरी जीप सञ्चालन गर्न लागेको जानकारी गराउँदै प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले यात्रुहरुलाई छिटो, छरितो र सहज यातायात सेवाका लागि आफुहरुले जीप सञ्चालन गर्न लागिएको बताए ।

उनका अनुसार हाल ५ जना युवा व्यवसायीद्वारा ७ जना यात्रुको क्षमता भएको महेन्द्र कम्पनीको हाईलक्स ब्राण्डको जीप सेवा सञ्चालन गरिने भएको छ । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकमा प्रतियात्रु तीनसय रुपैयाँ भाडादर कायम गरिएको अध्यक्ष रोकाको भनाई छ । प्रालिका सल्लाहकार मुक्ति रोकाले जीप सञ्चालनपछि सर्वसाधारणले सहज, सर्भसुलभ र छिटोछरिटो यातायात सेवा पाउने बताएका थिए ।

यातायात सेवा प्रालिले आउँदा दिनमा जीप थप गरी बेनी–कुहुँ, बेनी–बराङ्जा र दरबाङदेखि माथी लाम्मेला तमान, देवीस्थान, निस्कोटलगायतका सडकमा पनि सेवा दिने जानकारी दिएको छ । प्रालिले यातायात व्यवस्था कार्यालयबाट धौलागिरी क्षेत्रका सडकमा सेवा दिन अनुमति पाएको छ । ट्याक्सीले मनपरी भाडा असुल्ने तिब्र गुनासो समेत आइरहेको अवस्थामा सहज सेवाका लागी जीप सेवा सञ्चालनमा आउने भएपछि सर्वसाधाणले सहजताको अपेक्षा गरेका छन् ।