(प्रताप बानियाँ)
विगत २० दिनदेखि आमरण अनसन शुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा शुक्रबार म्याग्दी जिल्ला अस्पतालमा ओपिडी सेवा बन्द भएको छ । चिकित्सा क्षेत्र सुधारका निम्ती अनसन बसेका डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघ र गभरमेन्ट अफ द एशोसियसन अफ नेपालको आह्वानमा ओपिडी सेवा बन्द गरिएको हो ।
केसीको अनसनलाई समर्थन गर्दै आज देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गर्ने केन्द्रीय कार्यक्रमअनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवा बन्द गरिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिमा चिकित्सा क्षेत्र सुधारको मागसहित डा. केसीले १०औं पटक आमरण अनसन बस्दा पनि सरकारले वेवास्ता गरेका कारण ओपिडी सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
डा. केसीको समर्थनमा आकस्मिक र अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको म्याग्दी अस्पतालका मेडिकल अधिकृत डाक्टर अम्बालिका शाक्यले बताइन् । उनका अनुसार बिहीबार पनि केसीको आमरण अनसनको समर्थनमा बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा ओपिडी सेवा बन्द गरिएको थियो ।
डा. केसीको माग सम्बोधन गर्नका लागि बिहीबार राती अबेरसम्म केसी र सरकारी प्रतिनिधिबीच भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । डा. केसीले त्रिवि उपकुलपति तीर्थ खनिया र आईओएमका डिन केपी सिंहले पद नछोडेसम्म अनसन जारी राख्ने बताउँदै आएका छन् । आमरण अनसन शुरु गरेको २०औं दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।